राजनीति

विपत्तिको सामना गर्न राजनीतिक मतभेद त्यागेर एकजुट हुन नेता निधीको आग्रह

काठमाडौँ ।

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले देशमा आइपरेको अकल्पनीय प्राकृतिक विपत्तिको सामना गर्न सबै पक्षलाई राजनीतिक तथा दलीय मतभेद त्यागेर एकजुट हुन आह्वान गर्नुभएको छ ।
जनकपुरमा आयोजित लायन्स क्लवको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधीले विपद्को यस घडीमा उद्धार, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको हो । नेता निधीले मुलुकमा हालै आएको बाढीपहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएको उल्लेख गर्नुभयो । नेपाल प्रहरीको तथ्याङ्कलाई उद्धृत गर्दै उहाँले हालसम्म १ हजार ३ सय बढीको मृत्यु भएको र ४ हजार ९ सयभन्दा बढी मानिस सम्पर्कविहीन रहेको जानकारी दिनुभयो । मधेस प्रदेशमा मात्रै अझै १६२ जना सम्पर्कविहीन रहेको र उनीहरूको अवस्था अज्ञात रहनु दुःखद भएको उहाँको भनाइ छ । नेता निधीले रसुवाको नेत्रवती, ढुङ्गे बजार र नुवाकोटका विभिन्न क्षेत्रमा भएको विनाशले जनजीवन तहसनहस पारेको बताउनु भयो । विपद् व्यवस्थापनका तीन चरण–उद्धार, राहत र पुनर्निर्माणको चर्चा गर्दै नेता निधीले विगत ११ दिनदेखि सुरक्षा निकायहरू निरन्तर उद्धार कार्यमा खटिएको बताउनु भयो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सिमित स्रोतसाधनका बाबजुद प्रशंसनीय काम गरेको उहाँले उल्लेख गर्नुभयो । साथै, छिमेकी मुलुक भारत र चीनसहित अन्तर्राष्ट्रिय जगतले पु¥याएको सहयोगप्रति उहाँले आभार प्रकट गर्नुभयो ।

जलविद्युत क्षेत्रमा भएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै नेता निधीले हाइड्रोपावर आयोजनाहरूमा कार्यरत कर्मचारीहरूको ज्यान जानु र भौतिक संरचना ध्वस्त हुनु राष्ट्रका लागि अपूरणीय क्षति भएको बताउनु भयो ।

Related Post
Share

This website uses cookies.