राजनीति

अमेरिकी सेनाद्वारा इरानका सैन्य लक्ष्यहरूमा पुनः आक्रमणः सेन्ट्रम

संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमाण्ड (सेन्ट्रम) ले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कभ (आईआरजीसी) का विभिन्न सैन्य लक्ष्यहरूमा नयाँ आक्रमण शुरु गरेको जानकारी दिएको छ । सेन्ट्रमले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार अमेरिकी सेनाले स्थानीय समयअनुसार दिउँसो १२ बजेबाट इरानभित्र रहेका आईआरजीसीका ठेगानाहरूमा बमबारी शुरु गरेको हो । गत आईतवार वाशिङ्टन र तेहरानबीच भएको आक्रमण र प्रत्याक्रमणको सिलसिलापछि यो नयाँ सैन्य कारबाही भएको हो । जुलाई महिनाको अन्त्यपछि यी दुई पक्षबीचको तनाव पहिलोपटक यसरी उत्कर्षमा पुगेको देखिएको छ । प्राप्त विवरणहरूकाअनुसार मंगलबार इरानका तटीय सहरहरू बन्दर अब्बास, सिरिक र केशम टापुमा ठूला विस्फोटका आवाजहरू सुनिएका छन् । यसैबीच, इरानको अर्ध–सरकारी समाचार एजेन्सी तास्निमले इरानी सेनाले मंगलबार साँझ यस क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरूलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ ।
सेन्ट्रमकाअनुसार होर्मुज जलडमरूमध्य (स्ट्रेट अफ होर्मुज) मा व्यावसायिक जहाजहरू र क्षेत्रमा तैनाथ अमेरिकी सैनिकहरूमाथि आईआरजीसीले गर्न खोजेको आक्रमणको प्रतिवादस्वरूप यो सैन्य कारबाही गरिएको हो। फक्स न्युजले अमेरिकी स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार आईतवार अमेरिकाले लारक टापुमा रहेका आईआरजीसीका लन्चरहरूमा हवाई आक्रमण गरेपछि इरानले जोर्डनमा रहेका अमेरिकी सेनालाई लक्षित गरी कम्तीमा आठवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।
यस घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको कदमको कडा प्रतिवाद गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यद्यपि, उहाँले दुई देशबीच पुनः शान्ति वार्ताको सम्भावनालाई भने पूर्ण रूपमा अस्वीकार गर्नुभएको छैन ।

Related Post
Share

This website uses cookies.