राजनीति

टर्कीका मुख्य विपक्षी नेता ओजगुर ओजेलद्वारा राजीनामा, नयाँ राजनीतिक दल घोषणा

टर्कीको मुख्य विपक्षी दल ‘रिपब्लिकन पिपल्स पार्टी’ (सीएचपी) का नेता ओजगुर ओजेलले पदबाट राजीनामा दिँदै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् । ओजेलसँगै पार्टीका ९० जना सांसदहरूले पनि सामूहिक राजीनामा दिएका छन्, जसलाई टर्कीको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तनका रूपमा हेरिएको छ । स्थानीय सञ्चारमाध्यम हुर्रियतकाअनुसार ओजेलले एनी पार्टी नामक नयाँ राजनीतिक अभियानको शुरुवात गर्न लागेका हुन् । कुल ९१ जना सांसदहरूले टर्कीको ई–गभर्नमेन्ट प्रणालीमार्फत आफ्नो राजीनामा बुझाएका छन् । कानूनी प्रक्रियाहरू पूरा भएपछि यी राजीनामाहरू आधिकारिक रूपमा लागू हुनेछन् । सांसदहरूको यो ठूलो बहिर्गमनसँगै टर्कीको संसदमा सीएचपीको प्रतिनिधित्व घटेर ४४ सिटमा सिमित हुनेछ । यससँगै सीएचपीले मुख्य विपक्षी दलको हैसियत गुमाउनेछ भने ओजेलको नेतृत्वमा गठन हुने नयाँ एनी पार्टी संसदको दोस्रो ठूलो समूह बन्नेछ । यस फेरबदलले संसदीय समितिहरूको सिट बाँडफाँट र सीएचपीको आन्तरिक नेतृत्व संरचनामा समेत व्यापक असर पार्ने देखिएको छ । सन् २०२३ को नोभेम्बरमा सीएचपीको अध्यक्ष चुनिएका ओजेलकै नेतृत्वमा पार्टीले मार्च २०२४ को स्थानीय निर्वाचनमा उल्लेख्य सफलता हासिल गरेको थियो । सो विजयले सीएचपीलाई देशको मुख्य राजनीतिक शक्तिका रूपमा स्थापित गरेको थियो । तर सन् २०२३ मा भएको पार्टीको महाधिवेशनलाई अदालतले अवैध ठहर गरेपछि ओजेललाई अध्यक्ष पदबाट हटाइएको थियो । उक्त अदालती फैसलापछि पार्टीभित्र चुलिएको विवाद र विभाजनका कारण ओजेलले अन्ततः नयाँ दल खोल्ने निर्णय लिएको समाचारमा उल्लेख छ ।

Related Post
Share

This website uses cookies.