कक्षा ११ र १२ का झन्डै १४ लाख विद्यार्थीलाई मौका परीक्षा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २५ २०८१, आइतबार

कक्षा ११ र १२ का झन्डै १४ लाख विद्यार्थीलाई मौका परीक्षा

 

२०८१,७,२५

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षामा नियमित सामेल नभएका तथा अनुत्तीर्ण विद्यार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ । बोर्डका अनुसार २०५६ सालयता कक्षा ११ र १२ को परीक्षामा सहभागी भएर अनुत्तीर्ण विद्यार्थीका लागि मौका परीक्षाको व्यवस्था गरिएको छ । विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका सबैखाले विद्यार्थी मौका परीक्षामा सहभागी हुन सक्नेछन् ।बोर्डको यो व्यवस्था अनुसार पहिलो पटक २०५६ सालमा परीक्षामा सहभागी भएकादेखि २०७७ सालमा सहभागी भएर अनुत्तीर्ण भएकासम्म मौका परीक्षामा सहभागी हुन पाउने छन् । विगत २१ वर्षको अवधिमा सञ्चालन गरिएको नियमित तथा मौका परीक्षामा सहभागी भएर पनि अनुत्तीर्ण भएका परीक्षार्थीको सङ्ख्या झन्डै १४ लाख रहेको हुनसक्ने बोर्डको अनुमान छ ।

राष्ट्रिय परीक्षा बोर्डले आज सूचना निकालेर पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीलाई कक्षा ११ र १२ को परीक्षा आवेदन फाराम भर्न सूचित गरेको छ । बोर्डले यस्ता विद्यार्थीलाई आउँदो मङ्सिर २७ गतेभित्रमा आफूले अध्ययन गरेको शैक्षिक संस्थामा गएर परीक्षा फाराम भर्न अनुरोध गरेको छ । कक्षा १२ का लागि रजिस्ट्रेसन नम्बरको शुरुका दुई अङ्क ५६ वा त्योभन्दा बढी र ७७ वा त्योभन्दा कम तथा कक्षा ११ का लागि ५६ वा त्योभन्दा बढी र ७६ वा त्योभन्दा कम भएकालाई अन्तिम एक पटकको मौका दिइने छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले २०५६ देखि २०७७ सम्म रजिस्ट्रेसन गरेका विद्यार्थीले परीक्षा आवेदन फाराम भर्न पाउने बताउनुभयो । जति विषयमा फेल भएका विद्यार्थी पनि मौका परीक्षामा सहभागी हुन पाउने उहाँको भनाइ छ । आवेदन फाराम भर्ने विद्यार्थीको सङ्ख्याका आधारमा परीक्षा केन्द्र र तालिका पछि सार्वजनिक हुनेछ । सम्बन्धित विद्यालयरक्याम्पसले आफ्ना विद्यार्थीको परीक्षा आवेदन फाराम सङ्कलन गरी बोर्डमा बुझाउन आग्रह गरिएको छ । खारेज भएका वा अहिले सञ्चालनमा नरहेका विद्यालयमा अध्ययन गरेका विद्यार्थीले बोर्डको सम्बन्धित कार्यालयमा सोझै सम्पर्क राखेर आवेदन फाराम बुझाउनुपर्नेछ ।

प्रयोगात्मक विषय मात्र बाँकी रहेका विद्यार्थीले पनि सबै मौकामा आवेदन दिन सक्नेछन् । एक सङ्कायको विद्यार्थीले अर्को सङ्कायका विषयमा समेत परीक्षा दिन पाउने बोर्डले जनाएको छ । पुराना विद्यार्थीको परीक्षा पुरानो पाठ्यक्रमअनुसार नै सञ्चालन हुने र पूर्णाङ्कसमेत साविक अनुसारको नै हुने बोर्डले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);