देश/समाज

न्यून चापीय रेखा नेपाल नजिक, आइतबारसम्म मनसुन थप सक्रिय हुने मौसम विज्ञान विभागको पूर्वानुमान

आजदेखि आइतबारसम्म मनसुनी वर्षा थप सक्रिय हुने जल तथा मौसम विजान विभागले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट नेपाल नजिक सरेकाले देशभर नै यसको प्रभाव देखिने छ । मनसुनी वायुको प्रभावले असार १४ गतेदेखि असार १६ गतेसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैले महाशाखाले विशेष बुलेटिन जारी गर्दै शुक्रबारदेखि आइतबारसम्म भारी वर्षा, बाढी–पहिरो र डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन भनेको छ । त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने महाशाखाको प्रक्षेपण छ ।

आगामी तीन दिन मनसुन थप सक्रिय हुने भएकाले बाढी पूर्वानुमान महाशाखाले पनि बुलेटिन जारी गरेर कोशी, नारायणी र यसका प्रमुख सहायक नदीहरूमा जलसतह बढ्ने जनाएको छ ।

इलाम, झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र आसपास भई बहने साना नदीहरुमा बहाव बढ्ने तथा केहीमा आकस्मिक बाढी आउने पूर्वानुमान रहेकाले उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।नेपालमा जेठ २८ गते मनसुन भित्रिएयता बाढी र पहिरोमा परी २८ जनाको मृत्यु भइसकेको छ ।०००

Related Post
Share

This website uses cookies.