काठमाडौं ।
विपद् प्रतिकार्यलाई नतिजामुखी बनाउन विषयगत क्लस्टरहरूलाई तत्काल पूर्ण सक्रिय तुल्याउनुपर्ने र सुरक्षा निकायलाई विशुद्ध खोज तथा उद्धारमा मात्रै केन्द्रित गर्ने वातावरण बनाउनुपर्नेमा सशस्त्र प्रहरी बलले जोड दिएको छ ।भोटेकोशीजस्ता सीमापार विपद्का घटना न्युनिककरण गर्न चीन, नेपाल र भारतबीच मिनेट–सेकेण्डमै सूचना आदानप्रदान हुने त्रिपक्षीय पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने औँल्याइएको हो । शुक्रवार सिंहदरबारमा आयोजित भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा धारणा राख्दै सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) कृष्ण ढकालले उक्त धारणा राख्नुभएको हो । विपद्का समयमा कागजी रूपमा धेरै क्लस्टरहरू गठन भएपनि स्थलगत रूपमा ती प्रभावकारी हुन नसक्दा सुरक्षाकर्मीले नै स्वास्थ्यलगायत अन्य विविध क्षेत्रको समेत जिम्मेवारी लिनुपरेको उहाँको भनाइ छ ।
उहाँले विपद्को ‘क्लिक’ हुनासाथ सम्बन्धित क्लस्टरहरू स्वतः प्रभावित क्षेत्रमा पुग्ने संयन्त्र बनाउन सुझाव दिनुभयो । यसैगरी, सीमापार विपद् व्यवस्थापनबारे बोल्दै ढकालले चीनको तिब्बतबाट शुरु हुने भोटेकोशी बाढीले नेपालमा ठूलो जनधनको क्षति पु¥याउने र त्यसको असर तल्लो तटीय क्षेत्र भारतसम्म पुग्ने यथार्थ औँल्याउनु भयो । सुरक्षा निकायको क्षमता अभिवृद्धिका लागि राज्यले पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिँदै डीआईजी ढकालले सुरक्षा क्षेत्रमा गरिने विपद् व्यवस्थापन लगानीलाई ‘फजुल’ वा ‘अनुत्पादक’ मान्ने दृष्टिकोण त्याग्नुपर्ने बताउनु भयो । हाल उपलब्ध स्रोतसाधन र जनशक्ति विपद्को वास्तविक जोखिमका तुलनामा अझै अपर्याप्त रहेको उहाँको स्वीकारोक्ति छ । सशस्त्र प्रहरी बलले २०६७ सालमा चितवनको कुरिनटारमा विपद् व्यवस्थापन तालिम केन्द्र स्थापना गरी गोताखोर उत्पादनसहित अन्तर्राष्ट्रिय स्तरको छवि निर्माण गरेको स्मरण गर्दै ढकालले समग्र संस्थागत संरचनालाई अझै चुस्त र आधुनिक बनाउन कानुनी तथा नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्नुभयो ।
This website uses cookies.