काठमाडौं ।
लगातारको अविरल वर्षासँगै आएको बाढी, पहिरोका कारण देशभर १२ जनाले ज्यान गुमाएका छन् ।राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार पछिल्लो २४ घण्टामा मात्रै ६ जनाको मृत्यु भएको हो । असोज ८ गतेदेखि हालसम्म बाढी, पहिरो र अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या १२ पुगेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जाकारी दिनुभयो । उहाँकाअनुसार ७ जना सम्पर्कविहीन रहेका छन् । पाल्पामा एक जना तथा पछिल्लो २४ घण्टामा वागलुङमा चार र म्याग्दीमा दुई जना गरी बेपत्ता हुनेको संख्या ७ पुगेको उहाँले जानकारी दिनुभयो । सम्पर्कविहीनहरुको खोजी कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो । मौसम पूर्वानुमान महाशाखाले वर्षा तथा सम्भावित जोखिमबारे पूर्वानुमान गरेपछि प्राधिकरणले सोही आधारमा तयारी गरेको उहाँको भनाई छ । जोखिमका आधारमा रेड, एम्बर र येलो अलर्ट भएका क्षेत्र पहिचान गरी स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहलाई पूर्वतयारी र उद्धारका लागि टोली परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । विशेषगरी हिमाली क्षेत्रमा भारी वर्षासँगै हिमपातको सम्भावना देखिएपछि पर्यटक तथा ट्रेकर्सलाई लक्षित गरी छुट्टै सूचना जारी गरिएको उहाँको भनाई छ । हालसम्म ९ हजारभन्दा बढी पर्यटकलाई सुरक्षित स्थानमा झारिएको उहाँले बताउनुभयो । प्राधिकरणले अंग्रेजी भाषामा समेत एडभाइजरी जारी गरी विदेशी पर्यटक तथा यात्रुलाई मौसम र जोखिमबारे जानकारी गराएको थियो ।
उहाँले सम्भावित जोखिमलाई ध्यानमा राख्दै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्थानीय तहका प्रमुख तथा विपद् प्रतिकार्यमा खटिने अन्य निकायसँग निरन्तर सूचना आदान–प्रदान भइरहेको बताउनु भयो । प्राधिकरणले ह्वाट्सएप, भाइबरलगायत डिजिटल माध्यमबाट नदी बेसिन, वर्षाको अवस्था र प्रभावित क्षेत्रबारे नियमित जानकारी संकलन तथा सम्प्रेषण गरिरहेको छ । उहाँकाअनुसार गण्डकी र लुम्बिनी प्रदेशलाई जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको थियो । कालीगण्डकी र नारायणी नदी बेसिनमा कतिपय स्थानमा अति भारी वर्षा भएपछि नदीको बहाव बढेको र कटानसमेत भएको उहाँले बताउनु भयो ।
नवलपरासी १ हजार बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण
प्राधिकरणका अनुसार नवलपुर, चितवन, पाल्पा, पर्वतलगायत जिल्लामा बाढी, कटान र पहिरोको जोखिम देखिएको छ । पर्वतमा केही घर बाढीले बगाएको छ । तर स्थानीय प्रशासनले जोखिमयुक्त बस्तीका बासिन्दालाई समयमै सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति हुन नपाएको प्राधिकरणकी प्रवक्ता महतले बताउनु भयो । उहाँकाअनुसार नवलपरासी क्षेत्रमा पनि १ हजार १ सयभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको उहाँले बताउनु भयो । म्याग्दीमा उद्धारका लागि दुईवटा हेलिकोप्टर परिचालन गरिएको छ ।उहाँले भन्नुभयो, ‘हामीले सुरुदेखि नै गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रलाई बढी जोखिममा रहेको भनेर पहिचान गरेका थियौँ । अहिले वास्तविक अवस्था पनि त्यहीअनुसार देखिएको छ । विशेषगरी कालीगण्डकी र नारायणी नदी बेसिनका विभिन्न स्टेसनमा अति भारीसम्मको वर्षा रेकर्ड भएको छ ।
ती नदी बेसिनबाट प्रभावित हुन सक्ने क्षेत्रमा पनि जोखिम बढेको छ । नवलपुर, चितवन, पाल्पा, पर्वतलगायतका जिल्लामा त्यसको प्रभाव देखिएको छ । पर्वतमा केही घर बगेको जानकारी आएको छ । तर त्यहाँका बासिन्दालाई अघिल्लो बेलुका नै सुरक्षित स्थानमा स्थानान्तरण गरिसकिएको हुँदा मानवीय क्षति हुन पाएन । त्यसैगरी, नवलपरासी र सिक्किम क्षेत्रमा पनि करिब एक हजार एक सयभन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसकिएको थियो । यस्ता धेरै ठाउँ छन्, जहाँ जोखिमको पूर्वानुमान गरेर पहिले नै नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । उद्धारको विषयमा पनि हामीले प्राथमिकताका आधारमा काम गरिरहेका छौँ। कतिपय ठाउँमा अझै पनि समस्या छ । अहिले भर्खरै दुईवटा हेलिकप्टर उद्धारका लागि म्याग्दी प्रस्थान गरिसकेका छन् । आवश्यकताअनुसार जोखिममा रहेका नागरिकको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम जारी छ ।’
उद्धारपछि सुरक्षित स्थानमा राखिएका नागरिकका लागि खाना तथा अन्य आवश्यक सामग्रीको व्यवस्थापन स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसँगको समन्वयमा भइरहेको छ । स्थानीय तथा प्रदेशस्तरका गोदाममा रहेका सामग्रीसँगै प्राधिकरणको केन्द्रिय गोदाम र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गोदामबाट समेत आवश्यकताअनुसार राहत सामग्री पठाइरहेको प्राधिकरणले जनाएको छ । महतकाअनुसार तत्कालको जोखिम भने अझै टरेको छैन । आईतवार रातिसम्म केही क्षेत्रमा वर्षा जारी रहन सक्ने भएकाले नदीको बहाव थप बढ्ने र बाढी पहिरो आउने खतरा रहेको उहाँले बताउनु भयो ।
This website uses cookies.