विश्व

सिरियामा इन्धनको मूल्य बढ्यो, डिजेलमा ४० प्रतिशतसम्म वृद्धि

सिरियाले विश्व बजारमा इन्धन तथा ढुवानी लागत बढेको र घरेलु प्रशोधन क्षमता घटेको भन्दै पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य अस्थायी रूपमा वृद्धि गरेको छ । सिरियाको पेट्रोलियम उत्पादन तथा खनिज स्रोत मूल्य निर्धारणसम्बन्धी स्थायी समितिले जारी गरेको नयाँ मूल्यसूचीअनुसार ९५ अक्टेन पेट्रोलको मूल्य प्रतिलिटर १५२ बाट बढाएर १९५ सिरियाली पाउन्ड पु¥याइएको छ । यो करिव २८.३ प्रतिशत वृद्धि हो । त्यस्तै, ९० अक्टेन पेट्रोलको मूल्य १४७ बाट १८५ पाउण्ड पुगेको छ भने डिजेलको मूल्य १२५ बाट १७५ पाउन्ड पु¥याइएको छ । डिजेलको मूल्यमा करिब ४० प्रतिशत वृद्धि भएको छ ।

खाना पकाउने ग्यासको मूल्य पनि बढाइएको छ । घरायसी प्रयोजनमा प्रयोग हुने ग्यास सिलिन्डरको मूल्य १,४७० बाट बढाएर १,६०० पाउन्ड पु¥याइएको छ, जुन करिव ८.८ प्रतिशत वृद्धि हो । सिरियाको ऊर्जा मन्त्रालयले पछिल्लो मूल्यवृद्धि अस्थायी रहेको जनाएको छ । अन्तर्राष्ट्रिय बजारबाट पेट्रोलियम पदार्थ खरिद गर्दा लागत असामान्य रूपमा बढ्नुका साथै घरेलु बजारमा इन्धन आपूर्ति गर्ने प्रमुख बानियास रिफाइनरीको ठूलो मर्मतसम्भार भइरहेकाले मूल्य बढाउनुपरेको मन्त्रालयको भनाइ छ । यसअघि सेप्टेम्बर ४ मा पनि पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर पाँच–पाँच पाउन्डले बढाइएको थियो । त्यसबेला घरायसी तथा औद्योगिक ग्यासको मूल्य भने यथावत राखिएको थियो ।

Related Post
Share

This website uses cookies.