पत्रपत्रिका

ऊर्जा थप्दै ओलीको १९ दिने झुलाघाट–चिवाभञ्ज्याङ यात्रा

काठमाडौं, १ पुस। प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित १९ दिन लामो अभियानले आम कार्यकर्तासहित नागरिकस्तरमा ऊर्जा थपिएको छ।

मंसिर १४ देखि पुस १ सम्मका लागि तय गरेको संकल्प यात्रा बैतडीको झुलाघाटबाट थालनी भएर पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा समापन हुँदै छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली मंसिर १२ मा धनगढी पुग्नुभएको थियो। त्यसयता करिब ३ हप्ता लामो अभियानलाई आफैंले नेतृत्व गर्नुभएका ओलीको उपस्थितिले आम कार्यकर्तामा ऊर्जा थपिदिएको हो।

दुवै मिर्गौला प्रत्यारोपण भएका सात दशक पुराना नेता ओलीलाई आफ्नै नेता कार्यकर्ताले समेत यो यात्राको पूरै दिन नेतृत्व लिने कुरामा विश्वस्त थिएनन्। तर, उहाँको सक्रियताले पार्टी नेतादेखि आम कार्यकर्तासमेत चकित परेको एमालेका एक नेताले बताए।

झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीद्वारा राष्ट्रिय झण्डोत्तोलसँगै अभियान शुरू गरिएको थियो । अभियानका क्रममा मध्यपहाडी लोकमार्गका विभिन्न शहरी क्षेत्रमा सभा, भेला, अन्तरक्रिया गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो ।

त्यस्तै, त्यहाँका उद्यमी व्यवसायीसँग भेट, सकारात्मक काम गर्नेलाई प्रोत्साहन गर्ने, विकासका चुनौतीलाई सुन्ने, ऐतिहासिक स्थलको अवलोकन गर्नेलगायत कार्य भएको उहाँको भनाइ छ।

यो अभियानले देश र पार्टीको विभिन्न आयामका बारेमा जानकारी भएको ज्ञवालीले बताउनुभयो। यो यात्रालाई राजनीतिक यात्रासँगै विकास निर्माण, सामाजिक एकताको सन्देश दिएको राष्ट्रिय अभियानका रूपमा प्रमाणित गरिएको नेकपा एमालेको दाबी छ।

अध्यक्ष ओलीको सक्रियताले पार्टीभित्र मात्र होइन आम नागरिकमै जागरण ल्याएको नेकपा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराईले बताउनुभयो।

Related Post

उहाँले भन्नुभयो– ‘कतिपय साथीले अध्यक्षको यो खालको सक्रियता हुँदैन कि भन्ने सोच्नुभएको थियो । तर, अहिले आएर सबै नेताहरू चकित हुनुहुन्छ । अध्यक्ष ओली करिब ३ हप्ता जनतामाझ पश्चिमदेखि पूर्वसम्मको यात्रामा रहँदा उहाँमा कुनै थकान महसुस भएन । एमालेको सांगठनिक शक्ति आर्जनका यो यात्रा ऐतिहासिक बनेको छ ।’

१९ दिने यात्राका क्रममा शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो जन्मजिल्ला तेह्रथुम पुगेर विभिन्न स्थानका जनप्रतिनिधि, नेता, कार्यकर्ता, स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गरेका शनिबार बिहान आफ्नो जन्मघरमा श्रीमती राधिका शाक्यको तस्वीर खिचाएर पाँचथर लाग्नुभएको थियो।

अभियानका क्रममा एमालेले शनिबार पाँचथरमा विशाल जनसभा गरेको छ। कार्यक्रममा अध्यक्ष ओलीले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा पहाडको अवस्था र समस्या बुझेको बताउनुभयो ।

फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले जनतामा गुम्दै गएको विश्वास जगाउन नेकपा एमाले सफल भएको जिकिर गर्नुभयो । आज ९पुस १० राष्ट्रिय झन्डोत्तोलन गर्दै यो अभियान सम्पन्न भएको प्रतीक चिह्न राखेर फर्किने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायत क्षेत्रको विकासका सम्भावना बुझ्न अध्यक्ष ओलीको नेतृत्वमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटीलगायत नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोलीसहित समृद्धिका लागि संकल्प यात्रामा छन् ।

अभियानका मुख्य चार उद्देश्य
–पहाडको विकासमा चुनौती र समस्या पहिचान गर्दै पहाडको समृद्धिलाई अगाडि बढाउने यो अभियानको एउटा महत्वपूर्ण योगदान गर्ने ।
–सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने, विभिन्न कोणबाट देखा पर्न लागेका कतिपय संकीर्ण अतिवादी सोचहरूलाई निस्तेज गर्ने र बलियो राष्ट्रिय एकताको निर्माण गर्ने ।
–पुष्पलालले स्थापना गरेको कम्युनिस्ट पार्टी ७५ वर्ष पुगेको अवसरमा पुष्पलालको नाममा निर्मित लोकमार्गमा अभियान चलाएर आफ्नो इतिहासलाई सम्झिएको सन्देश दिने ।
–आम नागरिकमा देखिएको राजनीतिक दलहरूप्रतिको निराशा र असन्तुष्टिमा मलम लगाउँदै राजनीतिक परिवर्तनपछि एमालेको नेतृत्वमा भएका सकारात्मक कामहरूको प्रचार गर्ने । समाचारपत्र

Share
Tags: ओली

This website uses cookies.