विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १५सय २६ पुग्यो

चीनमा मात्रै १५ सय २३ को मृत्यु, ६७ हजारभन्दा बढी संक्रमित

एजेन्सी, ३ फागुन । कोरोना भाइरसका कारण चीनमा मात्रै मृत्यु हुनेको संख्या १५ सय २३ पुगेको छ । चिनियाँ स्वास्थ्य आयोगका अनुसार शनिवारसम्म कोरोनाका कारण बिश्वभर १५ सय २६को मृत्यु भएकोमा त्यसमध्ये चीनमा मात्रै १५ सय २३ जनाको मृत्यु भएको हो ।

फिलिपिन्स, हङकङ र जापानमा एक–एक जनाको मृत्यु भएको छ । चीनमा मृत्यु हुने एक हजार ५ सय २३ मध्ये १ हजार १ सय २३ कोरोना फैलिएको हुबेईको वुहान शहरका रहेका छन ।

त्यसैगरी भाइरसबाट संक्रमित हुनेको संख्या बिश्वभर ६७ हजार १ सय पुगेको छ । जसमध्ये ६६ हजार ४ सय ९२ संक्रमित चीनकै छन् । यसैबीच संक्रमितको पछिल्लो तथ्यांकले प्रकोप भयावह बन्नेतर्फ नदेखिएको स्वास्थ्य बिज्ञहरुले बताएका छन ।

वैज्ञानिकले कोरोना भाइरसविरुद्धको दुइटा ‘एन्टिभाइरस ड्रग’ को परीक्षण गरिरहेको स्वास्थ्य आयोगले उल्लेख गरेको छ । विश्वका विभिन्न देशले कोरोना संक्रमणपछि आत्तिएर विविध निर्णय लिएको भन्दै विश्व स्वास्थ्य संगठनले आपत्ति जनाएको छ ।

उसले भाइरसका कारण मृत्यु हुनेको संख्यामा त्यति धेरै वृद्धि नभएको र यसले महामारीको रूप नलिएको जिकिर गरेको छ । त्यसैगरी चीनमा अहीलेसम्म कोरोनाका कारण एक हजार ७ सय १६ स्वास्थ्यकर्मी संक्रमित भइसकेका जनाइएको छ । बिश्व स्वास्थ्य संगठनले कोरोनाको नयाँ नाम कोभिड–१९ राखिसकेको छ ।

By:

शनिबार, ०३ फागुन २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!