कोरोनाको लक्षण जाँच्ने थर्मल स्क्यानर १० दिनमै बिग्रियो

काठमाडौं, २५ माघ । प्राणघातक कोरोना भाइरसको सम्भावित लक्षण जाँच्न त्रिभुवन विमानस्थलमा राखिएको थर्मल स्क्यानर १० दिनमै बिग्रिएको छ । कोरोना संक्रमण नेपालमा पनि एक व्यक्तिमा पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले १० माघदेखि विमानस्थलको हेल्थ डेस्कमा दुईवटा थर्मल स्क्यानर सञ्चालनमा ल्याएको थियो ।

एउटा स्क्यानर प्रयोगमा ल्याएको १० दिनमै बिग्रिएको हेल्थ डेस्क इन्चार्ज गोपाल पाण्डेले बताए । ‘थर्मल स्क्यानरले उच्च ज्वरोलगायत कोरोना भाइरसको सम्भावित लक्षण देखिने व्यक्तिलाई रातो घेरामा संकेत गरेर सम्भावित जोखिमबाट बचाउँछ । तर, हाम्रोमा एउटा थर्मल स्क्यानर बिग्रिएको पाँच दिन भइसक्यो, अहिले एउटाले मात्रै यात्रुको स्वास्थ्य जाँच गरेका छौँ,’ हेल्थ डेस्क इन्चार्ज पाण्डेले भने ।

दैनिक विदेशबाट सात हजारको संख्यामा यात्रु त्रिभुवन विमानस्थल हुँदै नेपाल भित्रिन्छन् । अधिकांश यात्रु कुनै पनि स्वास्थ्य जाँच नगरी विमानस्थलबाट छिर्ने गरेको हेल्थ डेस्कका एक चिकित्सकले बताए । ‘अधिकांश यात्रुको कुनै पनि स्वास्थ्य जाँच हुँदैन । एउटा स्क्यानरले यात्रुको चाप थेग्न सक्दैन,’ ती चिकित्सकले भने, ‘बिग्रिएको पाँच दिनसम्म पनि सरकारले अर्को व्यवस्था गरेको छैन ।’

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

By:

शनिबार, २५ माघ २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!