त्रिभुवन विश्वविद्यालयको पुरुष छात्रावास लथालिंङ

काठमाडौं, २९ पुस । त्रिभुवन विश्वविद्यालयको पुरुष छात्रावास अहिले लथालिंङ जस्तै बनेको छ । छात्रावास भवन बनेको आधा शताब्दी भइसकेको छ । तर भवनको रंगरोगन हुन सकेको छैन भने बर्षा याममा पानी चुहिने समस्या पनि त्यत्तिकै छ । छात्रावासमा बस्दै आएका विद्यार्थीहरुले सुरक्षित आवास नहुँदा अध्ययन गर्न समेत सहज नभएको गुनासो गरेका छन ।

त्रिभुवन विश्वविद्यालयको पुरुष छात्रावासमा कुल दुई सय १६ आवास कोठा रहेका छन । तर त्यसमध्ये बिद्यार्थी बस्न योग्य दुई सय कोठा मात्र रहेका छन । त्यसमा पनि कतिपय राजनीतिक पहुँचका आधारमा बस्ने गरेका छन । दुर्गम स्थानबाट आएका विद्यार्थीले कोठा पाउन निकै संघर्ष गर्नु परेको छ ।

उक्त छात्रावास भवन २०२६ साल माघ २ गते नेपाल–भारत सहयोग अन्तर्गत निमार्ण भएको थियो । निर्माण भएको केही बर्षसम्म राम्रैसंग संचालन भएपनि अहीले सबैतिर लथालिंङ बन्दै गएको छ । भवनको मर्मत संहार हुन सकेको छैन भने भवनको भित्ता र छानामा झार उम्रिएका छन । छात्रावासमा खानेपानी र व्यवस्थित शौचालयको समेत अभाव रहेको छ । यसतर्फ कसैको ध्यान जान सकेको छैन ।

बिश्वबिद्यालयका प्राध्यापक र विद्यार्थी संगठनले समेत छात्रावासको संरक्षणका लागि आवाज उठाउन सकेका छैनन ।

पुरानो भवनका कारण भुकम्पीय जोखिम पनि बढ्दै गएको विद्यार्थीहरुको भनाई छ । देशैभरीका विद्यार्थीहरु अध्यन गर्न आउने त्रिभुवन विश्वविद्यालयमा छात्रावास थप गर्नुको सट्टा भएको एउटै छात्रावास पनि लथालिंङ बन्दै गएको छ ।

By:

मङ्गलबार, २९ पुष २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!