निमोनियाले मिर्गौला र कलेजोसम्म असर पार्न सक्छ

काठमाडौं, २९ कात्तिक । 

निमोनिया किन हुन्छ ?
निमोनिया फोक्सोको संक्रमण हो । यसको संक्रमणले फोक्सोका कोष सुन्निएर हावा भरिने क्षेत्र थुनिन्छ । यो रोग रोग विभिन्न जीवाणु, औद्योगिक रसायन आदिका कारण हुन्छ । यसमा मुख्य कारण जीवाणुको संक्रमण नै हो ।

यो रोगका लक्षणहरू के के हुन् ?
बिरामीको उमेर, रोग फैलाउने कीटाणु, रोग प्रतिरोधात्मक क्षमता अनुसार यसका लक्षणहरू फरक हुन्छन् । सामान्य हल्काफुल्का निमोनिया छ भने त्यस्तो अवस्थामा रुघाखोकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने आदि लक्षण देखिन्छन् । यो रोगको संक्रमण अत्यधिक भएर अवस्था गम्भीर भइसकेको छ भने काम ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, थकान लाग्ने, खान मन नलाग्ने, टाउको दुख्ने, पँहेलो खकार निस्किने, खकारमा रगत देखिने आदि लक्षण देखिन्छन् ।

निमोनियाको उपचार पद्धति के हो ?
बिरामीको अवस्था हेरेर उपचार पद्धति फरक हुन्छ । सामान्य बिरामीलाई औषधि दिएर घर पठाउन सकिन्छ भने केहीलाई अस्पतालमा भर्ना गर्नुपर्ने पनि हुन सक्छ । सामान्य अवस्थामा चिकित्सकको सल्लाह बमोजिम घरमै हेरचाह गर्न सकिन्छ ।

निमोनियाबाट कसरी बच्ने ?
निमोनियाबाट बच्न एन्टी भाइरस भ्याक्सिन लगाउन मिल्छ । यसबाहेक तातो लुगा लगाउने, चिसो र भीडभाडबाट बच्ने, खानपिनमा ध्यान दिने, जीवनशैली सुधार्ने, मास्क लगाउने, उमालेर पर्याप्त पानी पिउने, मुख र छालाको सरसफाइमा ध्यान दिने आदि गर्नाले निमोनियाबाट बच्न सकिन्छ । बच्चालाई जन्मेको ६ महीनासम्म आमाको दूध मात्र र त्यसपछि २ वर्षसम्म अन्य खानेकुरा सहित स्तनपान पनि गराउनुपर्छ । यसले बच्चामा पोषणको अभाव हुन नपाएर निमोनिया धेरै हदसम्म कम हुन्छ । बच्चाहरू निमोनियाबाट धेरै प्रभावित हुने भएकाले बच्चालाई लगाउनुपर्ने सबै खोप लगाउनुपर्छ । धूलो, धूँवा र प्रदूषणबाट बच्नुपर्छ । यो सरुवा रोग भएकाले सकेसम्म भीडभाडमा हिँड्ने गर्नु हुँदैन । बिरामीले जथाभावी खकार फाल्नुहुँदैन र हाछ्युँ गर्दा पनि मुख छोप्नुपर्छ ।

निमोनिया कत्तिको खतरनाक हुन्छ ?
यो रोगका विभिन्न चरण हुन्छन् । समयमै यसको रोकथाम गर्न सकियो भने निको हुन्छ । तर कहिलेकाहीँ यसको संक्रमणबाट फोक्सामै पीप जम्ने, फाक्सोभन्दा बाहिर पानी जम्ने, संक्रमण फैलिएर रगत, मुटु तथा मस्तिष्कमा पुग्ने आदि हुन्छ ।

यस्तो अवस्थामा रोग बढी जटिल भई खतरा बढ्दै गएर मिर्गौला र कलेजोमा असर गर्ने, रक्तचाप घट्ने, अक्सिजनको मात्रा घट्ने आदि समस्या आउन सक्छ, जुन एकदमै खतरनाक अवस्था हो । सामान्य निमोनियामा उपचार गर्दागर्दै पनि १ प्रतिशत जति बिरामीमा यो रोगले गम्भीर असर पु¥याउन सक्छ । अवस्था जटिल भएमा ३० देखि ५० प्रतिशत बिरामीलाई यसले गम्भीर असर गर्न सक्छ ।

सामान्य रुघाखोकी र निमोनिया कसरी छुट्ट्याउने ?
सामान्य रुघाखोकी लाग्दा आँखा रातो हुने, जीउ दुख्ने, सामान्य ज्वरो आउने लगायत लक्षण देखिन्छन् । तर निमोनियमा चिसो महसूस हुनेगरी अत्यधिक ज्वरो आउने, खकार आउने, छाती दुख्ने, श्वास फेर्न गाह्रो हुँदै जाने, थकान बढ्दै जाने लगायत लक्षण देखिन्छन् ।

यो रोग कस्तो मौसममा देखिन्छ र कुन उमेर समूहका व्यक्ति बढी प्रभावित हुन्छन् ?
यो रोग १२ महीनै हुन सक्छ । तर चिसो मौसममा बढी देखिन्छ । बच्चा र वृद्धहरूलाई यो रोग लाग्ने सम्भावना धेरै हुन्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा यो रोगका जीवाणु छिटो फैलिन्छन् । दम, एचआईभी एड्स, मधुमेह आदि रोगका बिरामीलाई यसको संक्रमण छिटो हुन्छ ।

निमोनिया भएपछि कति समयभित्र अस्पताल पुग्नुपर्छ ?
सामान्य रुघाखोकी लगायत लक्षण देखिएमा एक/दुई दिन पर्खिन सकिने भए पनि श्वास फेर्न गाह्रो हुने, खकारमा रगत आउने, खकार पँहेलो पाकेको जस्तो देखिने, खकार गन्हाउने, छाती घ्यारघ्यार हुने, बच्चाको कोखा हान्ने (श्वास फेर्दा छाती र करङको भाग भित्रपट्टि धस्सिने) आदि लक्षण देखिएमा तुरुन्त अस्पताल पुगेर चेकजाँच गराउनुपर्छ । समयमै उपचार भएमा यो रोग पूर्णरूपमा निको हुन्छ ।

यो रोगबारे तपाईंका सल्लाह–सुझाव छन् ?
बच्चा र वृद्धलाई निमोनियाले असर गर्ने सम्भावना बढी हुन्छ । त्यसैले माथि भनिएका लक्षण देखिएमा समयमै यसको चेकजाँच तथा उपचार गराउनुपर्छ । एन्टी भाइरस भ्याक्सिन लगाएर पनि यसबाट बच्ने सावधानी अपनाउन सकिन्छ । निमोनिया बढ्दै जाँदा जटिल बन्ने गर्छ । त्यसो हुँदा यो रोगलाई बेवास्ता गर्नु हुँदैन । सन्तुलित खानपिन गर्न र स्वस्थकर जीवनशैली अपनाउन सबैलाई अनुरोध गर्छु । यो समाचार आजको अभियान दैनिकमा लेखेको छ ।

By:

शुक्रबार, २९ कार्तिक २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!