मुस्लिम विद्रोहीको आक्रमणबाट १५ जनाको मृत्यु

एजेन्सी, २० कात्तिक । दक्षिणी थाइल्याण्डमा शंकास्पद मुस्लिम विद्रोहीको आक्रमणबाट १५ जनाको मृत्यु भएको छ । थाइसेनाका प्रवक्ता प्रमोट प्रोम–इनले शंकास्पद विद्रोहीहरुले याला प्रान्तका २ वटा सुरक्षा चौकीमा गरेको आक्रमणबाट १२ जनाको घटनास्थलमै र तीन जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बुधबार जानकारी दिएका हुन् ।

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले आक्रमणकारीलाई न्यायको कठघरामा ल्याइने बताएका छन् । थाइल्याण्डको दक्षिणी क्षेत्रमा विगत १५ वर्षदेखि हिंसात्मक विद्रोह भइरहेको छ । थाइल्याण्डको दक्षिण स्थित तीनवटा प्रान्तमा जारी विद्रोहका कारण अहिलेसम्म ७ हजारभन्दा बढी सर्वसाधारणको ज्यान गइसकेको छ ।

मलाया–मुस्लिम विद्रोहीहरुले बढी स्वायत्तताको माग राखी सशस्त्र आन्दोलन गरिरहेका छन् । हिंसाग्रस्त क्षेत्रमा थाई सरकारले सैनिक कानून लगाएको छ । यहाँ सैनिक र प्रहरीको बाक्लो उपस्थिति रहनुका साथै तालिमप्राप्त नागरिक स्वयंसेवी परिचालन गरिएको छ ।

By:

बुधबार, २० कार्तिक २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!