कहिल्यै पुराना नभएका दुई फिल्मी तिहार गीत

काठमाडौं, ११ कात्तिक ।  चाडपर्व लक्षित गरेर नेपाली फिल्महरुमा गीत निर्माण गरिने प्रचलन निकै न्यून छ । २ दशक अगाडि तुलसी घिमिरे निर्देशित ‘चिनो’ फिल्मको ‘दियो बाली साँझको…’ बोलको तिहार गीत भने कहिल्यै पुरानो भएन । आज पनि यो गीत उतिक्कै लोकप्रिय छ । जब यो गीत बज्न थाल्छ तब तिहारले घर आँगन टेकेको आभास हुन्छ ।

तिहार सम्झाउने गीतहरु थुप्रै बने पनि ‘चिनो’ को गीत अझै पनि कालजयी छ । लक्ष्मी पूजा लक्षित यो गीत हरेक बर्षको लक्ष्मी पूजाको दिन टेलिभिजन र रेडियोमा खुब बज्ने गर्दछ । भारतीय गायिका आशा भोस्लेको स्वरमा सजिएको यस गीतमा अभिनेत्री शुभद्रा अधिकारी फिचर भएकी छिन् । काग तिहारबाटै यो गीत जताततै घन्किन थालेको छ ।

थुप्रै फिल्ममा जीवन्त अभिनय गरिसकेकी अभिनेत्री शुभद्रा पनि यो गीतलाई आफ्नो फिल्मी करिअरको सर्वाधिक उत्कृष्ट भन्ने गरेकी छन् । गीतमा रन्जीत गजमेरको संगीत र आशा भोस्लेको स्वर रहेको छ । ‘चिनो’ फिल्म २०४८ सालको छेकोमा रिलिज भएको थियो । यो फिल्ममा भुवन केसी, शिव श्रेष्ठ, कृष्टि मैनालीको प्रमुख भूमिकामा छ ।

तिहार लक्षित अर्को कालजयी गीत हो, ‘तिहारै आयो लौ झिलिमिली…’ । यो गीत घन्कन थालेपछि तिहार नजिकिएको आभास हुन्छ । बरिष्ठ निर्देशक शम्भु प्रधान निर्देशित फिल्म ‘स्वर्ग’ मा यो गीत समावेश छ । गीतमा अभिनेत्री गौरी मल्ल फिचर्ड छिन् । हरेक वर्षको तिहारमा देउसी भैलेनी खेल्नेहरु यो गीतमा निकै रमाउने गर्दछन् । फिल्मीखबरबाट

By:

सोमबार, ११ कार्तिक २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!