रौतहट बम काण्ड : १५ एसपी जसले न्यायको गुहार सुनेनन्

काठमाडौं, २ कात्तिक । बम विस्फोटमा घाइते भएकालाई सुई लगाई बेहोस बनाएर जिउँदै इँटाभट्टामा हालेर सामूहिक हत्या गरिएयता १२ वर्षमा रौतहटमा प्रहरी प्रमुखका रूपमा १६ जना एसपी पुगेका छन् । घटनालगत्तै प्रहरीले उजुरी लिनसमेत मानेन । जिल्ला सरकारी वकिलको कार्यालय र महान्यायाधिवक्ताको कार्यालयले मुद्दा अगाडि बढाउन नमानेपछि पीडित परिवार सर्वोच्च अदालत पुगे । सर्वोच्चले घटनालाई गम्भीर भन्दै थप अनुसन्धान गर्न आदेश दियो । तर, पटकपटक ताकेता गर्दा पनि प्रहरी हाकिम सर्वोच्चको आदेशको सम्मान होइन, आलमको संरक्षणमा लागिरहे ।

घटना भएका बखत जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुख थिए एसपी लक्ष्मण न्यौपाने । मानवअधिकार आयोग, बार एसोसिएसन र इन्सेकको प्रतिवेदन मात्र होइन, मृतकका आफन्तका अनुसार जिल्ला प्रहरीको तत्कालीन नेतृत्व दोषीलाई पक्राउ गर्न होइन, घटना लुकाउन र आलमलाई सहयोग गर्न मात्र जुटिरह्यो । पीडित पक्षले पटकपटक गुहार गर्दा पनि प्रहरीले जाहेरी दर्ता गर्नसमेत मानेन । हुलाकमार्फत जाहेरी दर्ता भएपछि पनि पीडितलाई न्याय होइन, अभियुक्तलाई उन्मुक्ति दिन प्रहरी लागिप-यो ।

न्यौपानेपछि जयबहादुर चन्द रौतहट प्रहरी प्रमुखका रूपमा सरुवा भएर आए । जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गर्न नमानेपछि पीडितहरू महान्यायाधिवक्ता कार्यालय काठमाडौं आएका थिए । घटनामा आफ्नो कुनै गल्ती नभएको र पत्रिका पढेर मात्र आफूले त्यसबारे थाहा पाएको चन्दको दाबी छ ।

चन्दपछि घनानन्द भट्ट रौतहटको प्रहरी प्रमुख भए । २९ कात्तिक ०६५ देखि ३ मंसिर ०६६ सम्म उनी रौतहटमा थिए । उनको कार्यकालमा पनि आलमलाई प्रहरी संरक्षण प्राप्त भयो । त्यसवेला त झन् आलम नै मन्त्री भएका थिए ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

By:

शनिबार, ०२ कार्तिक २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!