बगर बनेको खेतमा बाढीपीडितले १२ बर्षपछि धान फलाए

विमल जैरु
डडेल्धुरा, ३१ भदौ । डडेल्धुरा पर्शुराम नगरपालिका ६ सिमलखेतका वाढीपीडितहरुले बगरमा परिणत भएको आफ्नो खेतमा १२ वर्षपछि धान फलाउन पाउँदा खुशी भएका छन् ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत पर्शुराम नगरपालिकाको रंगुन नदीमा तटवन्ध निर्माण गरिएपछि सिमल खेतका वाढीपीडितले वगरमा धान फलाउन थालेका हुन् ।

डडेल्धुराको धान उत्पादनको भण्डार मानिएको सिमल खेत १२ वर्ष पहिले रंगुन नदीमा आएको वाढीले वगरमा परिणत गरेको थियो । वाढीले खेतवारीलाई वगरमा परिणत गरेपछि सामुदायिक जंगलमा वस्दै आएका वाढीपीडितहरु आफ्नै पुरानो थातथलोमा आएर धान खेती लगाएका छन् ।

रंगुन नदीमा तटवन्ध निर्माण संगै १२ वर्ष पछि आफ्नै खेतमा धान खेती फलेको देख्दा वाढीपीडितहरु हर्षित भएका छन् ।

बगरमा धान खेती गर्नुका साथै गाईगोरु, कुखुरा पाल्न थाले संगै वाढीपीडितहरुलाई जिविकोपार्जनका लागि सहज भएको छ । पर्शुराम नगरपालिकामा रहेका वाढीपीडितहरुको व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको पर्शुराम नगरपालिकाका नगर प्रमुख भिमबहादुर साउदले बताउनु भयो ।

रंगुन नदीमा तटवन्ध निर्माणसंगै दशकाैंसम्म जंगलमा बस्दै आएका सिमल खेत सहित वडा नम्वर ६ कै सरकौडा, ठण्डजलाका वाढीपीडितहरु पनि आफ्नो जमिन खोज्दै पुरानो थातथलो फर्किन थालेका छन् ।

रंगुन नदीको कटान रोक्नका लागि गुरुयोजना बनाएर रंगुन नदीमा २३ किलोमिटर तटवन्ध निर्माण गर्ने काम द्रुत गतिमा भईरहेको पर्शुराम नगरपालिकाले जनाएको छ । रंगुन नदीमा २०६४ सालमा आएको वाढीबाट सिमल खेतका ३ सय घर परिवार विस्थापित भएका थिए भने हजाराैं हेक्टर जमिन बगरमा परिणत भएको थियो ।

By:

मङ्गलबार, ३१ भदौ २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!