कर्णाली प्रदेशको राजधानी सुर्खेतमा इन्धन भण्डारण शुन्य

विवशकुमार सेजुवाल

सुर्खेत, २६ भदौ । सरकारले भारतले नाकाबन्दी लगाएका बेला पाठ सिकेको भन्दै कम्तिमा ९० दिनलाई पुग्ने गरी तेलको भण्डारण राख्ने योजना अघि सारेको थियो । नाकाबन्दीको ४ वर्ष बित्दा सरकारले आफ्नो प्रतिबद्धता भुलेको छ ।

हरेक प्रदेशमा तेल भण्डारण संरचना निर्माणको योजनालाई गम्भीर रुपमा सरकारले अघि नबढाउँदा सुर्खेतमा पनि हालसम्म भण्डारण क्षमता विस्तारको काम अघि बढेको छैन् ।

सुर्खेतमा दुई दिन मात्रै आपुर्ति प्रभावित भए सवारीसाधन सञ्चालनमा अवरोध हुने स्थिति छ । तेलको भण्डारण क्षमता विस्तार गर्न प्रयास गरिए पनि काम नहुनु दुःखद् भएको सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कंडेल बताउनुहुन्छ ।

निगमको प्रादेशीक कार्यालय सुर्खेतमा भण्डारण क्षमता विस्तार गर्न नसकिने भन्दै सुब्बाकुनामा रहेको ट्रस्टको जग्गा प्राप्तिका लागि गत वर्ष नै पत्राचार गरिसकेको थियो । तर काम भने हालसम्म अघि बढेको छैन ।

नयाँ जमिन खरिद गर्नुभन्दा ट्रष्टकै ३४ विगाह जमिन उपलव्ध गराउन सरकारलाई अनुरोध गरिएको जानकारी आएपनि काम अघि नबढेको नेपाल आयल निगमको प्रादेशीक कार्यालय सुर्खेतका प्रमुख दिपकप्रसाद घिमिरेले बताउनुभयो ।

सुर्खेतमा दैनिक झण्डै ४० हजार लिटर पेट्रोल र २ लाख लिटर डिजेल विक्री हुने गरेको छ । उद्योगी व्यवसायीहरुले तत्काल सुर्खेतमा तेल भण्डारण संरचना निर्माण गर्न सुझाएका छन् । प्रदेश सरकार बनेको यत्रो समय भइसक्दा समेत प्रदेश सरकारले पनि तेल भण्डारण गर्न कुनै योजना अघि सारेको छैन ।

By:

बिहिबार, २६ भदौ २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Social media & sharing icons powered by UltimatelySocial