गढीमाई मेलाको व्यवस्थापन समिति छनोटको लागि निर्वाचन

श्याम गुप्ता
बारा, २६ भदौ । गढीमाई मन्दिरको मेलाको व्यवस्थापन समिति छनोटको लागि निर्वाचन भएको छ । ठूलो संख्यामा दिइने पशुबलिका कारणले विश्व प्रसिद्ध गढीमाई मन्दिरमा यही मंसिरमा हुने पञ्चबर्षीय मेला व्यवस्थापनका लागि निर्वाचन भएको हो ।

प्रमुख निर्वाचन अधिकृत ओमप्रकाश केशरीका अनुसार विहिवार बिहान आठ बजेबाट सुरु भएको मतदान साँझ पाँच बजे सम्पन्न भएको छ । निर्वाचनमा आठ हजार भन्दा बढी मतदाताहरु सहभागी भए ।

मन्दिर सञ्चालन तथा विकास समितिको नेतृत्व लिन बिभिन्न राजनीतिक दलले प्यानल नैं बनाएर आ–आफ्ना उम्मेदवारहरु अघि सारेका छन् भने कतिपयले आफ्नै दल बिरुद्ध बागी उम्मेदवारी समेत दिएका छन् ।

प्रमुख निर्वाचन अधिकृत केशरीका अनुसार राजपा र फोरमले संयुक्त प्यानल बनाएर चुनावमा होमिँदा नेकपा र काँग्रेसले छुट्टा–छुट्टै रुपमा प्यानल बनाएर आफ्ना उम्मेदवार अघि सारेका छन् ।

चुनावका लागि अध्यक्ष र उपाध्यक्षमा चार/चार, सचिव र सहसचिवमा तीन/तीन जनाको उम्मेदवारी परेको छ भने चार सदस्यको लागि १८ जनाको उम्मेदवारी परेको प्रमुख केशरीले जानकारी दिनुभयो ।

यो निर्वाचनलाई अत्यन्त महत्वका साथ हेरिने हुँदा निर्वाचनलाई सहज बनाउन सुरक्षा निकाय केही दिन अघि देखि नै सुरक्षा व्यवस्थापनमा जुटेको थियो ।

यता मन्दिरका नाममा आर्थिक चलखेल गर्न पाउने भएकाले निर्वाचनमा संसदीय निर्वाचन भन्दा बढी तडकभडक भएको स्थानीयहरुको भनाई छ । राज्यले यसको महत्व नबुझिदिंदा भौतिक पुर्वाधारमा पछि परेको गढीमाई मन्दिरका मुल पुजारी मंगल सिंह थारुले बताउनु भयो ।

यस चुनावबाट निर्वाचित बोर्डले मंसीरमा हुने मेला सञ्चालन गर्नेछ । विशुद्ध धार्मिक संस्था भए पनि यसको सञ्चालन र विकासका लागि हुन लागेको नयाँ नेतृत्व चयन, स्थानीय, प्रादेशिक तथा संघीय निर्वाचन भन्दा चर्को देखिएको छ ।

अत्यन्तै महत्वका साथ हेरिने यो निर्वाचनलाई समर्थन जुटाउन यति बेला आ–आफ्ना दलका संघिय, प्रादेशिक मन्त्रीहरु र केन्द्रिय नेता समेत बाराको गढीमाई मन्दिर परिसरमा उत्रेका छन् । आउँदो मंसिर १७ गते देखि करिब एक महिना सम्म गढीमाई मेला लाग्ने छ ।

By:

बिहिबार, २६ भदौ २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Social media & sharing icons powered by UltimatelySocial