असोज ५ देखि दशैंको लागि अग्रिम बस टिकट खुल्ने

काठमाडौं, २६ भदौ । दशैंका लागि आगामी असोज ५ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको बिहीबार काठमाडौंमा बसेको संयुक्त बैठकले असोज ५ गतेदेखि दशैंका लागि अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको हो ।

यस वर्षको दशैंको टिकटमा भाडादर भने नबढाइएको पनि यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनु भयो । दशैंका लागि अग्रिम बस टिकटमा भाडा दर नबढाउने पनि निर्णय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यस वर्ष दशैंको घटस्थापना असोज १२ गते परेको छ भने असोज १८ गते फूलपाती, १९ गते अष्टमी, २० गते महानवमी र २१ गते विजया दशमी पर्छ ।

बैठकमा यातायात व्यवसायीहरुले सडक तत्काल सुधार गर्न भने सरकारसँग माग गरेका छन् । दशैंका लागि दुर दराजसम्म यात्रुहरु पुग्नुपर्ने भएकाले वर्षाका कारण क्षति पुगेका सडक सुधारको कामलाई भने तत्काल अघि बढाउन सरकारसँग माग गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताउनु भयो ।

By:

बिहिबार, २६ भदौ २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Social media & sharing icons powered by UltimatelySocial