गाउँ व्यवस्थित गर्न भदौ सभा

काठमाडौं, २६ भदौ । लमजुङको क्व्होलासोंथर गाउँपालिका–४, भुजुङका बासिन्दाले व्यवस्थित र सभ्य रूपमा गाउँ सञ्चालनका लागि आफ्नै नियम बनाएका छन् । गाउँलाई अनुशासनमा राख्न स्थानीयवासीले हरेक वर्ष भदौ महिनामा ‘भदौ सभा’ गरेर नीतिनियम तथा ऐनकानुन बनाउने गरेका हुन् । उनीहरूले यस वर्ष पनि चार दिनसम्म सभा बसेर अर्को भदौसम्मका लागि नियम बनाएका छन् ।

संविधानले गाउँपालिकालाई स्थानीय सरकारका रूपमा कानुन बनाउनेसम्मको अधिकार दिए पनि भुजुङका बासिन्दाले नीतिनियम बनाउन ‘भदौ सभा’ गर्न छाडेका छैनन् । भदौमा बनाएको कानुन अर्को भदौसम्म हुने र बर्सेनि परिमार्जन गर्दै लाने गरेका छन् । रीतिथिति व्यवस्थापन समितिका अध्यक्ष कालबहादुर गुरुङले गाउँलाई एकतामा बाँध्न, शान्त वातावरण बनाउन र अनुशासनमा राख्न भदौ सभा गर्ने गरिएको बताउनुभयो ।

भदौ सभामा गाउँमा रहेका ३४५ घरधुरीका घरधनी जम्मा हुन्छन् । कुन घरका व्यक्तिले वर्षभरि के के गल्ती गरे, त्यसको लेखाजोखा हुन्छ र अब नगर्ने वाचा गर्ने गर्छन् । उनीहरूले तामाको ताउलो छोएर गाउँको नीतिनियम पालना गर्ने वाचा गर्छन् । गाउँको सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थामा एकरूपता ल्याउन, गाउँलाई एकढिक्का बनाउन र बाहिरी व्यक्तिको हस्तक्षेप रोक्न भदौ सभा गर्ने गरिएको गुरुङले बताउनुभयो ।

साविक भुजुङ गाविसका निवर्तमान अध्यक्ष नारायणबहादुर गुरुङका अनुसार भदौमा सञ्चालन गरिने भएकाले यो सभालाई भदौ सभा भन्ने गरिएको हो । वर्षायाममा धान तथा कोदो गोडमेल सकिएपछि केही फुर्सद हुने र फुर्सदको समय सदुपयोग गर्दै उहिलेदेखि भदौ सभा गर्दै आएको उहाँले बताउनुभयो । यो समाचार गोरखापत्र दैनिकमा लेखेको छ ।

By:

बिहिबार, २६ भदौ २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Social media & sharing icons powered by UltimatelySocial