विगतमा भएका गलत सम्झौताबाट सरकारले मुलुकलाई मुक्त राख्नुपर्छ : भीम रावल

काठमाडौं, २८ साउन । नेपाल कम्युनिष्ट पार्टीका सांसद भीम बहादुर रावलले असमान र अपमान जनक सन्धिबाट मुलुकलाई मुक्त गर्न सरकारले कुटनीतिक र राजनीतिक पहल गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उहाँले शक्तिशाली सरकारले विगतमा भएका गलत सम्झौताबाट मुलुकलाई मुक्त राख्नुपर्ने धारणा राख्नुभएको हो । उहाँले नेपालको सार्वभौम सत्तामा आँच पुर्याउने गोर्खा भर्ती केन्द्र बन्द गर्नुपर्ने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो “नेपाली युवा युवतीलाई विदेशी सेना भर्ती गरिने नेपालको सार्वभौमसत्तामा आंच पुर्याउने निरंकुश राणा शासनले थोपरेको गलत सम्झौताबाट देशलाई मुक्त गरिनुपर्छ । भुतपुर्व गोर्खाका न्यायोचित आवाज सुनिनुपर्छ र त्यसलाई सम्बोधन गरिनुपर्छ ।”

उहाँले नेपाल कुनै पनि शक्ति राष्ट्रसंघको संयुक्त सैनिक अभ्यासमा सहभागी हुन नहुने तर्फ सरकारलाई सचेत गराउनुभयो । उहाँले भन्नुभयो “कुनै पनि शक्ति राष्ट्रसंग कुनै पनि प्रकारको सामरिक गठजोडमा संलग्न हुन नेपालको संविधानले अनुमति दिदैन । त्यस प्रकारको गठजोडमा लाग्नु नेपालको हितमा पनि छैन । देश भित्र र बाहिर संयुक्त बहुराष्ट्रिय सैनिक अभ्यासमा नेपालको संलग्नता गलत हुन्छ । प्राकृतिक विपदको सामना गर्ने उद्देश्यमा सिमित रहेर सुरक्षा निकायकाबीच तालिम र अनुभवको आदान प्रदान गर्न सकिने भएतापनि ठूलो संख्यामा सेनालाई संलग्न गराएर दुईपक्षीय सैनिक अभ्यासमा पनि नेपाल अब संलग्न हुनु हुँदैन ।”

उहाँले छिमेकी देश र अन्तराष्ट्रिय जगतमा भएको घटनाबाट पाठ सिकेर तत्कालिन राजनीतिक परिस्थितिलाई गम्भीर विश्लेषण गर्दै राष्ट्रहितका पक्षमा दृढताका साथ उभिनुपर्नेमा जोड दिनुभयो । शान्ति प्रक्रियाका बाँकी काम पुरा नगर्न विदेशी हस्तक्षेप बढ्न सक्ने भन्दै उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता व्यक्तिको छानबिनको बाँकी काम अबिलम्ब पुरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

संसदीय समितिका सदस्यहरुबाट राष्ट्रिय परिचय पत्रमा राखिएका जानकारी सार्वजनिक पहुँचमा पुग्ने आशंका व्यक्ति भईरहेका बेला सांसद रावलले राष्ट्रिय परिचयपत्र, गाडीका नम्बर प्लेट, कार, भन्सारको महसुल संकलन जस्ता संवेदनशील तथ्यांकहरुको अभिलेख विदेशी सर्भरमा राख्न दिन नहुने तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

By:

मङ्गलबार, २८ साउन २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!