सिजनको पहिलो खेलमा लिभरपुलको शानदार जित

एजेन्सी, २५ साउन । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लिभरपुलले शानदार जितको सुरुवात गरेको छ । प्रिमियर लिगको नयाँ सिजन शुक्रबार रातिदेखि सुरु भएको हो ।

घरेलु मैदानमा भएको खेलमा साबिक उपविजेता लिभरपुलले बढुवा भएर आएको नर्विच सिटीलाई ४–१ ले पराजित गरेको हो । लिभरपुलको जितमा मोहम्मद सालह, भर्जिल भान डिजेक र डिभोक ओरिजीले गोल गरे । उसले गोलको सुरुवात भने उपहार गोलबाट गरेको हो ।

नर्विचका ग्रान्ट हेन्लीले सातौँ मिनेटमा नै आत्मघाती गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । डिभोक ओरिजीको क्रस बललाई नियन्त्रण गर्ने क्रममा उनले आत्मघाती गोल गरेका हुन् । यो सिजन प्रिमियर लिगमा गोलको सुरुवात आत्मघाती गोलबाट भएको हो ।

त्यसपछि १९ औँ मिनेटमा सालह, २८ औँ मिनेटमा भान डिजेक तथा ४२ औँ मिनेटमा ओरिजीले गोल गरेपछि लिभरपुलले पहिलो हाफमै ४–० को अग्रता लियो । नर्विचले दोस्रो हाफमा एक गोल फर्कायो । उसका लागि ६४ औँ मिनेटमा तीमू पुकीले गोल गरेका हुन् ।

गएको सिजन उपाधिबाट एक अंकले मात्रै वञ्चित हुन बाध्य लिभरपुल यो सिजन पूरा तयारीका साथ उपाधि होडमा फर्किएको खेलबाट देखिन्छ ।

By:

शनिबार, २५ साउन २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!