‘प्रधानमन्त्री ओलीको अभिव्यक्ति गैर जिम्मेवार’

काठमाडौं, २६ असार । भारतबाट आयात हुने विषादी परिक्षणको निर्णय फिर्ता लिन भारतिय दुतावासले पत्र पठाएको सरकारका प्रवक्ता एवंम् सुचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले स्वीकार गरेपनि सो पत्रका बारेमा राष्ट्रका कार्यकारी पदमा रहेका प्रधानमन्त्रीबाट भने आफुलाई पत्रको बारेमा जानकारी नभएको अभिव्यक्ति आएको थियो ।

तर, बिहीबार भएकाे एक कार्यक्रममा  त्यस्तो पत्र आएर पनि आफुलाई जानकारी नभएकोमा आफुलाई लज्जावोध भएको भन्दैप्रधानमन्त्रीले क्षमा माग्नुभएको छ । यसरी कुटनीतिक रुपमा आउने पत्रका विषयमा प्रधानमन्त्रीलाई समयमै जानकारी नहुनुले विभिन्न प्रश्न उब्जिएका छन्।

यस विषयलाई लिएर कतिपयले महत्वपुर्ण कुटनीतिक पत्र पनि प्रधानमन्त्री समक्ष नपुग्नु भनेको राज्य सञ्चालन प्रणाली कमजोर भएको बताएका छन् भने कतिपयले यस्तो हुनै नसक्ने भनी सरकारको आलोचना गरेका छन् । राष्ट्रको कार्यकारी प्रमुख भएर कुटनीतिक पत्रका विषयमा आफुलाई जानकारी नभएको भन्ने अभिव्यक्ति दिनु गैरजिम्मेवारपुर्ण भएको राजनीतिक विश्लेषक कल्याणदेव भट्टराईको बुझाई छ ।

तर परराष्ट्रविद्हरु भने यस प्रकरणलाई रहस्यमय ढंगले हेरेको बताएका छन् । हरेक कुटनीतिक निणर्यमा प्रधानमन्त्री पुर्ण जिम्मेवार रहने भएकाले यस्तो संवेदनशिल पत्रमा प्रधानमन्त्री गुमराहमा परे भनेर दिएको अभिव्यक्तिलाई सामान्य मान्न नमिल्ले उनीहरुको बुझाई छ ।

प्रक्रियागत रुपमा परराष्ट्र सम्बन्धी विषयलाई अगाडी बढाइने हुनाले यदी प्रधानमन्त्रीलाई नै झुक्काउने काम गरेकोे हो भने यो राज्य सञ्चालन र सुरक्षा माथि कै चुनौति रहेको परराष्ट्रविद् रमेशनाथ पाण्डेको भनाई छ ।

विषादी परीक्षण प्रकरणमा भएका निणर्यहरुलाई लिएर अहिले नयाँ नयाँ रहस्य खुल्दै आएका छन् । यो विषय झनै आशंकापुर्ण बन्दै गएको छ । कार्यकारी पदमा रहेका प्रधानमन्त्री, मन्त्रीले नै आफुलाई गुमराह राखियो भनेर दिएको अभिव्यक्तिले सरकार सञ्चालनमा चुनौती भएको स्पष्ट देखिएको छ ।

By:

बिहिबार, २६ असार २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!