विप्लव समूहलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न कांग्रेसलाई सरकारको आग्रह

काठमाडौं, २६ असार । सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई नेत्रविक्रम चन्द समूहलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न आग्रह गर्नु भएको छ ।

मन्त्री बास्कोटाले चन्द समूहले गरिरहेको हिंसाको सहारा लिएर नेपाली काँग्रेसले सरकारमाथि प्रश्न उठाउने काम गरिरहेको भन्दै आफ्नो दृष्टिकोण स्पष्ट पार्नु आग्रह गर्नु भएको हो ।

संविधान, कानुन र शान्तिका विरुद्ध नेपाली काँग्रेसले चन्द समूहलाई किन काखी च्यापेको भनि प्रश्न पनि गर्नु भयो । भोजपुरमा चन्द समूह र प्रहरीबीचको झडपमा परी बुधबार बिहान दुवै पक्षका २ जनाको हत्या भएको थियो ।

सोही घटनालाई लिएर नेपाली काँग्रेसले सरकारले ‘मृत्यको व्यापार’ गरिरहेको आरोप लगाएको थियो । त्यसप्रति टिप्पणी गर्दै मन्त्री बास्कोटाले नेपाली काँग्रेसले कानुन, संविधान विपरित हिंसात्मक गतिविधिलाई साथ दिएको दावी गर्दै आपत्ति जनाउनु भयो ।

मन्त्री बास्कोटाले चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्याको छानवीनका लागि संसदीय समिति गठन गर्न नसकिने अडान पनि दोहो-याउनु भयो । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सो हत्याकाण्डको छानवीनका लागि संसदीय समिति गठन गर्न माग गर्दै संसद बैठक अवरोध गरिरहेको छ । मन्त्री बास्कोटाले संसदीय समितिले छानवीन गर्दैमा सो समस्या समाधान नहुने दावी पनि गर्नु भयो ।

By:

बिहिबार, २६ असार २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!