कर्णाली जीप दुर्घटनाको २२ दिन पछि शब भेटियो

काठमाडौं, २६ असार । जीप दुर्घटाना भएको २२ दिन पछि खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु हमाल शाहीको लास भेटिएको छ । सर्केगार्ड गाउँपालिकाको वडा नम्बर–४को नागर स्थित कर्णाली नदीको किनारमा बिहान ११.०० बजे भेटिएको हो ।

कर्णाली नदीको किनारमा महिलाको लास भेटिएको खबर आएपछि सिमकोट बिमान स्थलबाट हेलिकोप्टरमा घटना स्थलमा जानु भएका प्रमुख जिल्ला अधिकारी धोलक राज ढकालले लाश उपाध्यक्ष हमालकै भएको बताउनुभयो ।

मृतक हमालका श्रीमान धिरेन्द्रबहादुर शाहीले औलाको औँठीका आधारमा आफ्नी श्रीमति हमाल नै भएको जनाए पछि नियम अनुसार प्रक्रिया मिलाएर मृत घोषित गरि खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावल र श्रीमान शाहीको जिम्मा लगाएको उहाँले बताउनुभयो ।

आजै आफन्तले उपाध्यक्ष शाहीको शबलाई अन्तिम संस्कार गरेका छन् । हिन्दु परम्परा अनुसार घर परिवारले कुशको लाश बनाएर अन्तिम दाह संस्कार असार ६ गते नै गरि सकेका थिए । खबर आएपछि खार्पुनाथ गाउँपालिकाका अध्यक्ष रावल, प्रहरी नायब उपरिक्षक रामप्रसाद घर्तीमगर, जिल्ला अस्पतालका चिकित्सक दुर्गा सुर्खाली लगाएतको टोली हेलिकोप्टरमा लाश भेटिएको स्थलतर्फ गएको थियो ।

लाश भेटिएको स्थान सदरमुकाम सिमकोटबाट डेढ दिन पैदल हिड्नु पर्छ । गत असार ३ गते खार्पुनाथ गाउँपालिकाको बेडु बिसौनी र कैलावालु क्षेत्रमा महेन्द्र बोलेरो जीप कर्णाली नदीमा खस्दा उपाध्यक्ष शाही सहित ११ जना बेपत्ता भएका थिए । घटना भएको २३ दिन पछि उपाध्यक्षको शब भेटिएको हो भने अन्य दश जना भने अझै बेपत्ता अबस्थामा नै रहका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

By:

बिहिबार, २६ असार २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!