हिमालयन शेर्पा क्वाटर फाइनलमा प्रवेश

काठमाडौं, २५ असार । हिमालयन शेर्पा क्लबले राजधानीमा जारी ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको क्वाटरफाइनलमा स्थान बनाएको छ ।

बुधबार भएको खेलमा एनआरटीसँग १–१ गोलको बराबरी खेलेपनि हिमालयनले क्वाटरफाइनलको यात्रा तय गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एनआरटीले लिएको सुरुवाती अग्रता उल्टाएर हिमालयनले बराबरी खेलेको हो ।

बराबरीसँगै समूह ’ए’ को हिमालयनले ४ खेलबाट ६ अंक जोड्यो । एनआरटीको ४ खेलबाट ५ अंक रहेको छ ।यस समूहबाट एक खेल कम खेलेको मछिन्द्रको ३ खेलबाट ६ अंक रहेको छ । यस्तै संकटा क्लबको ५ र च्यासल युथ क्लबको १ अंक रहेको छ ।

लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

By:

बुधबार, २५ असार २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!