दुईदिनसम्म चलेको विज्ञान सडक मेला सम्पन्न

पुष्पा पोखरेल
काठमाडौं, २९ जेठ । समाजका लागि विज्ञान तथा नव प्रवर्द्धनका लागि समृद्घि भन्ने नारासहित ललितपुरमा आयोजना गरिएको विज्ञान सडक मेला बुधवार समापन भएको छ । दुईदिनसम्म चलेको सम्मेलनमा करीव पाँचसय भन्दा बढिको सहभागिता थियो । सम्मेलनमा विज्ञान तथा प्रविधिको क्षेत्रमा भए गरेका उपलब्धीका विषयमा छलफल गरिएको थियो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त आयोजनामा युवा पुस्तालाई विज्ञान तथा प्रविधिको ज्ञान दिनका लागि विज्ञान सडक मेला आयोजना गरिएको हो ।

ललितपुरको जावलाखेलमा भएको मेलामा नास्टका वैज्ञानिक सहित विभिन्न स्कुल तथा कलेजका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । मेलामा आम मानिसको जनजीवनमा परिवर्तन आउने खोज तथा अनुसन्धानको बारेमा छलफल भएको थियो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका अनुसार सर्वसाधारणलाई समेत विज्ञान तथा प्रविधिको क्षेत्रमा भएको विकासका नयाँ नयाँ अवधारणवारे जानकारी दिनु मेलाको मुख्य उद्देश्य हो ।

विज्ञान सडक मेलाले आगामी दिनमा आम नागरिकमा वैज्ञानिक सँस्कारको विकासका लागि सचेतना बढाउन सघाउने विश्वास गरिएको छ । विज्ञान सडक मेला नेपालमा पहिलो पटक भएको हो । आगाअी वर्षहरुमा राजधानीमा मात्र केन्द्रित नभइ देशका विभिन्न ठाउँमा यस्तो मेला आयोजना गरिने आयोजकले जनाएको छ ।

मेलामा विज्ञान प्रविधि र आविष्कार सम्बन्धित पोष्टर, पम्प्लेट डेमो र नमुना प्रविधिका सामाग्रीहरु राखिएका थिए । विज्ञान र प्रविधिसंग सम्बन्धित गतिविधि समेटिएका वृत्तचित्र प्रदर्शन र विभिन्न खाद्य्य प्रविधि र परिकारका स्टल पनि राखिएका थिए ।

दुईदिनसम्म चलेको सम्मेलनमा विज्ञान र प्रविधिको क्ष्ेत्रमा काम गर्ने सरकारी, गैरसरकारी तथा निजि संघसस्था र शैक्षिक संघसंस्थाका करीव ५० वटा स्टल राखिएका थिए । मेलामा सर्वसाधारणलाई निशुल्क प्रवेश तथा अवलोकनको समेत व्यवस्था गरिएको थियो । पछिल्लो समय विज्ञान तथा प्रविधिको क्षेत्रमा युवा पुस्ताको रुचि घटिरहेको बेला यो सम्मेलनले केहि हदसम्म भएपनि हौसला बढाएको विश्वास लिइएको छ ।

By:

बुधबार, २९ जेठ २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!