पार्टी एक, कोष दुई

काठमाडौं, २९ जेठ । सत्तारुढ नेकपा बनेको १३ महिना भयो । तर, पूर्वएमाले र पूर्वमाओवादी केन्द्रको कोष भने अहिले पनि वेग्लावेग्लै खाताबाट चल्छ । पूर्वएमालेका सांसदहरूले पार्टीलाई मासिक १३ हजार बुझाउँछन् । पूर्वमाओवादी सांसदले भने १२ हजार बुझाउँछन् । तर, यो लेबी भिन्दाभिन्दै कोषमा जम्मा हुने गरेको छ । संघीय संसद्मा नेकपाका पदाधिकारीको समायोजन भइसक्यो । तर, कोष मात्रै होइन, संसदीय दलको कार्यालय पनि अहिलेसम्म वेग्लावेग्लै चलिरहेको छ ।

पार्टीको एकता पूर्ण रूपमा टुंगिन बाँकी रहेकाले कोष एक हुन नसकेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । ‘दलको नेता, प्रमुख सचेतकलगायत राष्ट्रिय सभामा पनि पदाधिकारी एकता टुंगिइसकेको छ । कोष पनि मिलाउने भन्ने सिद्धान्त हो । पार्टीको एकीकरण पूर्ण रूपमा टुंगिइनसकेकाले दुई छुट्टाछुट्टै खातामा रकम जम्मा भएको हो,’ उपनेता नेम्वाङले भने ।

 लेबी दर फरक दलको कार्यालय फरक

पूर्वएमालेका प्रतिनिधिसभामा १ सय २१ र राष्ट्रिय सभामा २७ गरी १४८ सांसद संघीय संसद्मा छन् । त्यस्तै, पूर्वमाओवादीका प्रतिनिधिसभामा ५३ र राष्ट्रिय सभामा १२ सहित ६५ सांसद छन् । दुवै पार्टी एकीकरण भइसकेपछि २ सय १३ सदस्य संख्याको नेकपाको संसदीय दल बन्यो । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा रहेको पूर्वएमालेको दलको कार्यालयमा मात्र तथा पूर्वमाओवादीको दलको कार्यालयमा मात्र सबै अट्न नसक्ने भएकाले हाल नेकपाको संसदीय दल बैठक नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा बस्छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

By:

बुधबार, २९ जेठ २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!