हराइरहेको भारतीय वायु सेनाको जहाज अझै फेला परेन

एजेन्सी, २७ जेठ । एकसाता अघि हराएको भारतीय वायुसेना को विमान एएन–३२ अहीलेसम्म पनि पत्ता लाग्न नसकेको जनाइएको छ । उक्त बिमान गत हप्ता असमको जोराहटबाट अरुणाञ्चलका लागि उडेको थियो ।

विमानमा चालक दलका आठ जना र अन्य यात्रु पाँचजना गरी १३ जना रहेका छन् । बिमानको खोजी कार्य तीब्रताका साथ गरिएपनि हालसम्म कुनै जानकारी प्राप्त हुन नसकेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

विमानको अन्तिम लोकेशन अरुणाचल प्रदेशको पश्चिम सिन्याग जिल्लामा चीनको सीमा नजिक फेला परेको थियो । उक्त बिमान सोही क्षेत्र आसपास रहेको हुनसक्ने अनुमान गर्दै खोजी कार्य गरिएको भए पनि विमान फेला परेको छैन ।

रूसमा निर्मित दुइवटा इन्जिन भएको ट्रबोप्राप उक्त जहाज भारतीय सेनाले विशेष गरी सेना र मालसामान ढुवानीका लागि प्रयोग गर्दै आएको थियो। विमान हराइरहेको क्षेत्र भौगोलिक हिसाबले कठिन हुनुका साथै घना जंगल रहेको बताइएको छ ।

जहाज खोजीका लागि भारतीय सेनाले भएभरको संयन्त्र प्रयोग गरेको दाबी गर्दै आए पनि अहिलेसम्म विमान र त्यसमा रहेका यात्रुका बारेमा कुनै पनि सूचना प्राप्त गर्न सकेको छैन । खोजी कार्यमा ठोस प्रगति नभएपछि भारतीय वायु सेनाले बेपत्ता विमानका बारेमा भरपर्दो सूचना दिनेलाई ५ लाख भारतीय रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ ।

By:

सोमबार, २७ जेठ २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!