भैरहवा भन्सार कार्यालयमा कर्मचारीले काम ठप्प पार्दा सेवाग्राही मारमा

विवेक विश्वकर्मा भैरहवा, २७ फागुन । नाकाबन्दीमा पनि असर नपरेको बेलहिया स्थित भैरहवा भन्सार कार्यालय कर्मचारीको दादागिरीको मारमा परेको छ । कर्मचारीहरुले भन्सार कार्यालय बन्द गर्दा लाखौंको राजस्व गुम्नुको साथै सेवाग्राहीहरु मारमा परेका छन ।  घुस खान लागेका कर्मचारीको तस्विर लिन खोज्ने पत्रकारलाई कुट्ने भन्सार कार्यालयका कार्यालय सहयोगी अनुज फुयाँललाई प्रहरीले कार्यवाही गर्न खोजे पछि कर्मचारीहरुले दादागिरी शैलीमा भन्सार बन्द गरेका छन ।

बिहिबार भैरहवा कार्यालय समयमै कर्मचारीहरुले भन्सारका मूख्य ढाँठनै खसालेर भन्सारको काम काज अवरुद्ध पारेका थिए । मूख्य भन्सार नै अवरुद्ध पारे पछि सीमापारीबाट बिभिन्न उपभोग्य सामाग्री लिएर आउने उपभोक्ताहरु मर्कामा परेका थिए । समान चेकजाच गर्ने कर्मचारी नहुदा भन्सार सुरक्षाको लागी खटिएका शसस्त्र प्रहरीको टोलीले चेकजाच मात्र गरेर सेवाग्राहीहरु पठाएको थियो । भन्सार गर्नु पर्ने समानको हकमा भने सेवाग्रहीहरु कुर्नुको बिकल्प थिएन ।

भैरहवा भन्सार बन्द रहे पनि प्रमुख भन्सार अधिकृत भुपाल राज शाक्यले भने आधा घण्टा मात्र भन्सार बन्द भएको स्विकार गर्छन । “म छलफलको लागी प्रशासन कार्यालय जादा बिभिन्न ट्रेड युनियन सम्वद्ध साथीहरुले केही बेर सेवा अवरुद्ध गर्नु भयो । ” भन्सार अधिकृत शाक्यले भने ।

शाक्यले एक छिन मात्र भन्सार अवरुद्ध भएको बताई रहदा उनकै कार्यकक्षको छेउछाउको कोठाहरु भने खाली थिए । काम गराउन आएका बिभिन्न सेवाग्राहीहरु रनभुल्लमा परेका थिए । भन्सार कार्यालयको कोठा नम्बर ३ आशिकुडा फाँटमा कुनै कर्मचारी थिएनन् । यसै गरि कार्यालयको कोठा नम्बर ५ भन्सार शाखामा पनि ताल्चा लगाईएको थियो । अन्य फाटहरुबाट पनि सबै कर्मचारीहरु उपस्थित थिएनन् ।

घुस खाने कर्मचारी जोगाउनैका लागी प्रमुख भन्सार अधिकृत देखि बिभिन्न कर्मचारी युनियनहरु लागेका छन । कर्मचारीहरुको बन्दका कारण भन्सारबाट हुने भन्सार, बिभिन्न सवारीका सुविधा, जाचपास लगायतका सेवाहरु प्रभावित भएका थिए । भन्सार कार्यायका प्राय कुर्सिहरु खाली थिए, कुर्सिमा बसेका कर्मचारीहरु पनि पत्रिका पढ्न ब्यस्त देखिन्थे ।

पत्रकार कुट्ने फुयाँल भने अहिले प्रहरी हिरासतमा रहेका छन । हिरासतमा रहेका कर्मचारीलाई बिना शर्त रिहा गर्नु पर्ने कर्मचारीहरुको माग रहेको छ ।
सोमबार राती घुस लिन लागेका फुयाँलको तस्विर लिने क्रममा उनले अब्बल साप्ताहिकका सम्पादक तथा राजधानी दैनिक र दैनिक पत्रका सम्वाददाता श्याम शंकर पाण्डे तथा अब्बल साप्ताहिकका प्रकाशक समेत रहेका पत्रकार प्रकाश न्यौपाने माथी हातपात गरेका थिए ।

By: शशी शेखर घिमिरे

शुक्रबार, २७ फागुन २०७३

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!