आईपीएल: सन्दिप लामिछानेको टोली दिल्लीद्वारा हैदरावाद पराजित, चेन्नाईले कोलकातालाई हरायो

काठमाडौं, २ बैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आइतवार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई हराउँदै दिल्ली क्यापिटल्स दोस्रो स्थानमा उक्लिएको छ ।

लिग अन्तर्गत हिजो भएको खेलमा नेपाली खेलाडी सन्दिप लामिछानेको टोली दिल्लीले हैदरावादलाई ३९ रनले पराजित ग¥यो । यो खेलमा सन्दिपले भने खेलेका थिएनन् । हैदरावादस्थित राजिब गान्धी क्रिकेट मैदानमा दिल्लीले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको हैदरावाद १८ ओभर ५ बलमा अलआउट हुँदै १ सय १६ रनमै समेटियो । हैदरावादका डेभिड वार्नरले ५१ रनको अर्धशतकीय इनिङस खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । बलिङतर्फ दिल्लीका कागिसो राबडाले ४ तथा क्रिस मोरिस र किमो पाउलले समान ३/३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले श्रेयस ऐयरको ४५ रन तथा कोलिन मुन्रोको ४० रनको मद्दतले १ सय ५५ रन बनाएको थियो ।

हिजै भएको अर्को खेलमा चेन्नाई सुपर किङ्ग्सले कोलकाता नाईटराईडर्सलाई ५ विकेटले हरायो । गएरातिका खेलहरुपछि आईपीएल क्रिकेटको अंक तालिकामा ८ खेलबाट १४ अंक जोडेको चेन्नाई शीर्ष स्थानमा छ । समान खेलबाट १० अंक जोडेको दिल्ली दोस्रो स्थानमा उक्लिएको छ । ८–८ अंक जोडेका कोलकाता, मुम्बई र पञ्जाव क्रमशः तेस्रोदेखि पाँचौ स्थानसम्म रहेका छन् । छैटौं स्थानको हैदरावादको ६ अंक छ भने ४ अंक जोडेको राजस्थान सातौं स्थानमा छ । एक खेल मात्रै जोडेको रोयल च्यालेन्जर्स बैग्लोर २ अंकको साथ तालिकाको पुछारमा रहेको छ ।

By:

सोमबार, ०२ बैशाख २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!