खुलामञ्चस्थित अस्थायी बसपार्कमा अवैध सटर: ठेकेदारले उठायो १५ लाखसम्म सलामी

काठमाडौं, २ बैशाख । खुलामञ्चस्थित अस्थायी बसपार्कका दुई छेउमा अवैध रूपमा सटर बनाएर ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले व्यापारीसँग १५ लाखसम्म सलामी रकमसमेत उठाएको छ ।

सलामी रकम नबुझाउने व्यापारीलाई बसपार्क प्रवेशमै रोक लगाएको छ ।सटर प्रयोग गरेबापत ८ देखि १५ लाखसम्म सलामी रकम उठाएको र रकम नदिने व्यापारीलाई बिल्डर्सले बसपार्कभित्र प्रवेश निधेष गरेको बसपार्कस्थित स्वरोजगार व्यापार श्रमिक संघका अध्यक्ष हरिप्रसाद पाण्डेले बताए । बसपार्कभित्रका नाङ्लो व्यापारीसँग भने प्रतिनाङ्लो ५० हजार रुपैयाँ उठाउने गरेको छ । सलामी रकम सुरुमा ठाउँ लिएबापतको मात्रै हो । भाडाबापत हरेक महिना छुट्टै रकम बुझाउनुपर्छ ।

‘दैनिक रोजीरोटीका लागि व्यापारको विकल्प छैन । वर्षौँदेखि बसपार्कमै व्यापार गर्दै आएका हौँ । पुरानो बसपार्कमा हुँदा महानगरपालिकालाई भाडा दिन्थ्यौँ । बसपार्क खुलामञ्चमा सरेपछि व्यापार चौपट भयो,’ अध्यक्ष पाण्डेले भने, ‘बसपार्कको पेटीमा सानोतिनो कारोबार गर्दैै आएका थियौं । अहिले बिल्डर्सका कर्मचारी आएर हामीलाई निकाले । यो समाचार आजको नयाँँ पत्रिका दैनिकमा लेखेको छ ।

व्यापार गर्न सलामी रकम ८ देखि १५ लाख रुपैयाँ माग्दै आएका छन् । नाङ्लो व्यापारीसँग पनि सलामी रकम मागेको छ । कतिपयले रकम दिइसकेका छन् । रकम नदिनेलाई बसपार्कभित्र छिर्नै रोकेको छ । दुवैतर्फ गेटमा गार्ड नै राखेको छ ।’जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका सञ्चालक मनोज भेटवालले भने यस विषयमा बोल्न चाहेनन् । नयाँ पत्रिकाले टोलिफोन सम्पर्क गरेर प्रतिक्रिया माग्दा उनी पछि बोल्ने भन्दै पन्छिए र मोबाइल अफ गरे ।

भाडामा लगाउनकै लागि बिल्डर्सले बसपार्कस्थित खाली जग्गामा धमाधम सर्टर निर्माण गरिरहेको छ । कतिपय सटर निर्माण गरिसकेको छ । बसपार्कको दुवै किनारामा गरी ४० भन्दा धेरै सटर निर्माण गर्दै छ । रकम बुझाउनेले सटर डेकुरेसनसमेत थालिसकेको पाण्डेले बताए । बसमापार्कमा साना ठूला गरी दुई सयभन्दा धेरै व्यापारी आश्रित छन् ।

बिल्डर्सले बसपार्कसँगै जोडिएको गुठीको करिब एक रोपनी जग्गामा पनि अवैध रूपमा भाडामा लगाएको स्थानीय व्यापारी कुमार दाहालले बताए । यो जग्गामा २८ भन्दा धेरै व्यापारीले ठाउँ लिएका छन्, प्रत्येकले सात लाख सलामी रकम बुझाएका छन् । उनीहरूले भाडाबापत प्रतिमहिना १० देखि १५ हजार बुझाउँदै आएका छन् ।

By:

सोमबार, ०२ बैशाख २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!