विप्लवले आफूलाई मार्न टिम परिचालन गरेको प्रचण्डको खुलासा

‘बिद्रोहको कलाविहीन नाटक’ नदेखाउन विप्लवलाई प्रचण्डको आग्रह

काठमाडौं, ३० फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई ‘बिद्रोहको कलाविहीन नाटक’ नदेखाउन आग्रह गरेका छन् ।

अध्यक्ष दाहालले विप्लव नेतृत्वको नेकपाले आफूलाई नै पहिलो चरणमा मार्ने टिम परिचालन गरेको जानकारी सरकारले गराएको उल्लेख गर्दै उनीहरुको गतिविधि देखेर आफूलाई दया जागेर आएको प्रतिक्रिया दिए ।

बिहीबार सहिद तथा वेपत्ता योद्धाहरुको सम्मानमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो नक्कल गर्ने भ्रम पारेर अघि बढे परिणाम दूभाग्यपूर्ण हुने भन्दै चन्द नेतृत्वको नेकपालाई नयाँ बाटो खोजेर अघि बढ्न पनि आग्रह गरे ।

उनले चन्दलाई यो २०५२ साल नभई २०७५ साल भएकाले परिस्थितिलाई हेरेर अघि बढ्न गम्भिर हुन पनि सचेत गराए । आफ्नै सचिवालयमा सचिव भएर काम गरेका चन्दले आफैलाई पहिलो चरणमा मार्ने योजना बनाएको सुन्दा आफूलाई दया लागेर आएको अध्यक्ष दाहालको भनाई छ । अध्यक्ष दाहालले आफ्नो नक्कल गरेर कहीँ पनि नपुगिने बताए ।

अध्यक्ष दाहालले सरकारले संविधान र कानुन अनुसार काम गर्ने उल्लेख गर्दै परिस्थितिको गम्भिर विश्लेषण गरेर अघि बढ्न पनि चन्द नेतृत्वको नेकपालाई पटक–पटक आग्रह गरेका छन् ।

अध्यक्ष दाहालले सरकारले छिट्टै सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन आयोगको पुनर्गठन गर्न लागेको बताए । प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्ष दलका नेता शेरबबहादुर देउवा र आफूसँग मंगलबार दुवै आयोग पुनर्गठनको विषयमा छलफल गरेको र त्यसलाई पुनर्गठन गरेर शान्ति प्रक्रियाका बाँकि काम पूरा गर्ने सहमति गरिएको स्पष्ट पारे ।

उनले सहिद तथा वेपत्ता परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्ने विषयमा पनि पार्टी नेतृत्वबीच सहमति भएको दावी गरे । सत्तापक्ष र प्रतिपक्ष कसैले पनि यो परिवर्तनका लागि जीवन बलिदान गर्ने सहिदहरुको सम्मान गर्ने कुरामा विवाद गर्न नहुने अध्यक्ष दाहालको भनाई छ ।

अध्यक्ष दाहालले सहिद तथा वेपत्ता परिवारका एक जना सदस्यलाई रोजगारी दिने विषयमा पनि प्रधानमन्त्री ओलीसँग आफूले छलफल गरेको स्पष्ट पारे ।

By:

बिहिबार, ३० फागुन २०७५

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!