विप्लवमाथि प्रतिबन्ध निर्णयले नेकपामा असन्तुष्टि

काठमाडौं, ३० फागुन । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै असन्तुष्टि बढेको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको सहमतिमा सरकारले विप्लव नेतृत्वको नेकपाका गतिविधिलाई प्रतिबन्ध लगाए पनि त्यो निर्णयमा पार्टी सचिवालयका अन्य सदस्यले असन्तुष्टि जनाएका छन्।

सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको भोलिपल्टै बुधबार सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठले यस विषयमा अध्यक्ष दाहालसँग छलफल गरेका छन्। सरकारले राष्ट्रिय महŒवको विषयमा निर्णय गर्दा पार्टीसँग छलफल नगरेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका थिए। प्रधानमन्त्री ओलीले मंगलबार बिहान दाहालसँग छलफल गरेपछि साँझ मन्त्रिपरिषद् बैठक राखेर विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गराएका थिए।

दाहालसँगको छलफलमा सत्तारुढ नेकपाका शीर्ष नेताहरुले सरकारको निर्णय गलत भएको र यसले नराम्रो सन्देश दिएको बताएका थिए। पार्टी सचिवालय सदस्यलाई समेत जानकारी नदिई अध्यक्षद्वय मात्र विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णयमा पुग्नु गलत भएको उनीहरूको भनाइ छ। विभिन्न समूहसँग वार्ता गर्न सरकारले गठन गरेको टोलीले वार्ताका लागि विप्लवलाई पत्राचार नगरेको र वार्ता समितिले बुझाएको प्रतिवेदनमा पनि विप्लव समूहलाई राजनीतिक भनिएको अवस्थामा एकाएक प्रतिबन्ध लगाउनु गलत भएको तर्क उनीहरुको छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

By:

बिहिबार, ३० फागुन २०७५

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!