सरकार र सिके राउतबीच ११ बुँदे सहमति, ओली र सीके राउत एउटै मञ्चमा

काठमाडौं, २४ फागुन । सरकार र मधेशलाई छुट्टै अलग राज्य बनाउने अभियानमा जुटेको सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमति भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा र राउतले शुक्रबार काठमाडौंमा सो सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिमा गठबन्धनले मुलुकको अखण्डतालाई स्विकार गरेको छ भने सरकारले गठबन्धनका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिने तथा जेलमा रहेका उनीहरुका नेता, कार्यकर्तालाई रिहा गर्ने भएको छ ।

त्यसैगरी गठबन्धनले संघीय लोकतान्त्रिक गणतन्त्रसहितको नेपाल अभिभाज्य राष्ट्र हो भनेर स्विकार गरेको छ । तराई मधेशमा देखिएको असन्तुष्टिलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्ने पनि दुई पक्षबीच हस्ताक्षर गरिएको सहमति पत्रमा उल्लेख गरिएको छ ।

सहमति अनुसार हिरासतमा मृत्यु भएका स्वतन्त्र मधेश गठबन्धनका बाँके जिल्ला संयोजक राममनोहर यादवका परिवारलाई राज्यको तर्फबाट उचित क्षतिपूर्ति र परिवारका एक जना सदस्यलाई रोजगारी दिने पनि उल्लेख गरिएको छ । स्वतन्त्र मधेश गठबन्धनको आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने पनि सहमति भएको छ ।

By:

शुक्रबार, २४ फागुन २०७५

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!