सेलिब्रेटी बन्न चाहनेले प्रहरी एकेडेमीबारे अनैतिक टिप्पणी गरेको प्रधानमन्त्रीको आरोप

काठमाडौं, २९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले हल्ला गर्न रुचाउने र सेलिब्रटी बन्न चाहाना राख्नेहरुले प्रहरी एकेडेमी सार्ने विषयमा अनैतिक टिप्पणी गरेको आरोप लगाएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मंगलबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १ सय ७८ आैं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रहरी तालिमका सबै कार्यक्रम एकै थलोमा गर्न सक्ने गरि फराकिलो स्थानमा सार्ने विगतमा भएको निर्णयलाई नै कार्यान्वयनको चरणमा लैजादै गर्दा हल्ला रुचाउने र सेलिब्रेटी बन्न चाहनेहरुले अनैतिक टिप्पणी गरेको उनको आरोप छ।

उनले भने “हल्ला गर्न रुचाउने कतिपयले सेलिब्रेटी स्वभावमा आफूलाई चर्चित भएको देखाउनेका लागि अनैतिक खालका टिप्पणीहरु पनि त्यसमा गरे । अहिले नै राष्ट्रपति ज्यूले यहाँबाट लखेट्न खोज्या हो कि जस्तो पनि पारिदिए । छिमेकी पिरेको भन्ने शब्दहरु पनि प्रयोग गरे ।”

शान्ति सुव्यवस्था खलबल्याउने र जनतालाई आतंकित पार्ने काम भईरहेको भन्दै सरकारले त्यस्ता गतिविधि कुनै पनि अवस्थामा गर्न नदिने प्रधानमन्त्रीको भनाई छ ।

प्रधानमन्त्री ओलीले सरकारले अपराधरहित सचेत समाज निर्माण गर्न चाहेको स्पष्ट पारे । कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रहरी निरीक्षक आधारभूत तालिममा सहभागी मध्ये उत्कृष्ट प्रशिक्षाथीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

By:

मङ्गलबार, २९ माघ २०७५

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!