काठमाडौँ–तराई द्रुतमार्ग निर्माण तीव्र गतिमा

काठमाडौं, २८ पुस । कम समय र खर्चमा राजधानीबाट तराई आवतजावत गर्न सकियोस् भन्ने उद्देश्यसहित निर्माण सुरु गरिएको काठमाडौँ–तराई द्रुतमार्ग (फास्टट्रयाक) को निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ ।

विभिन्न २८ वटा कम्पनीसँग भएको निर्माण सम्झौतासँगै राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत काठमाडौँ–तराई दु्रतमार्ग निर्माण कार्यले थप गति लिएको द्रुतमार्ग निर्माणको जिम्मेवारी पाएका नेपाली सेनाले जनाएको छ । त्यसैगरी, अहिलेसम्मको भौतिक प्रगति शत्प्रतिशत र वित्तीय प्रगति ९५ प्रतिशत रहेको नेपाली सेनाले जानकारी गराएको छ ।

नेपाली सेनाका प्रवक्ता एवम् सहायक रथी यमप्रसाद ढकालले निर्माणसँग सम्बन्धित २३ वटा र उपकरणसँग सम्बन्धित पाँचवटा कम्पनीसँग भएको सम्झौतासँगै दु्रतमार्ग निर्माण कार्यले थप गति लिएको बताए । निर्माणसँग सम्बन्धित २३ वटामध्ये २० वटा कम्पनीले फिल्डमा काम गर्न सुरु गरिसकेको र तीनवटाले चाँडै नै काम सुरु गर्ने जानकारी प्रवक्ता ढकालले दिए । सेनाले विभिन्न २८ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो ।

त्यसैगरी, निर्माण कार्यलाई सहज रुपले अगाडि बढाउन विभिन्न नौ ठाउँमा नेपाली सेनाको क्याम्प स्थापना गरी कामलाई अगाडि बढाइएको जानकारी समेत उनले दिए । नेपाली जनता र सरकारको विश्वासलाई तलमाथि हुन नदिने गरी निर्धारित समयमा नै काम गर्ने लक्ष्यसहित द्रुतमार्गको निर्माण कार्यलाई तीब्रता प्रदान गरिएको प्रवक्ता ढकालले बताए ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

By:

शनिबार, २८ पुष २०७५

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!