वाइडबडीमा देउवा पनि !

काठमाडौं, २८ पुस । नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि जोडिएका छन् ।

२०७४ जेठ २४ गते देउवा प्रधानमन्त्री भएको चार दिनपछि २९ गते वाइडबडी खरिदको रकम भुक्तानीका लागि सटही सिफारिसको निर्णय भएको थियो । त्यतिबेला देउवाले नै पर्यटन मन्त्रालयको नेतृत्व गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संसदको सार्वजनिक लेखा समितिलाई पठाएको विवरणमा २०७४ वैशाख २५ देखि चैत १ सम्म जितेन्द्रनारायण देव उड्डयनमन्त्री रहेको उल्लेख छ । यो विवरण गलत रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो । कार्यालयको विवरणअनुसार देवले २०७४ वैशाख २५ गते पर्यटनमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए तर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामासँगै उनी जेठ २३ देखि पदमा रहेनन् ।

भोलिपल्ट जेठ २४ मा देउवाको नेतृत्वमा सरकार गठन भयो । तत्काललाई नागरिक उड्डयन मन्त्रालयको नेतृत्व पनि देउवाले नै गरे । देउवाकै नेतृत्वमा पाँच दिनपछि मन्त्रालयका सचिव शंकर अधिकारीले पहिलो किस्ता भुक्तानीका लागि नेपाल राष्ट्र बैंकमा सटही सुविधाको चिठी लेखे । देव भने दोस्रो पटक २०७४ साउन ११ गते मात्र मन्त्री नियुक्त भएका थिए । उनको उक्त कार्यकाल फागुन ३ गते देउवाले राजीनामा दिएसँगै सकियो । भोलिपल्टै केपी ओलीको नेतृत्वमा नयाँ सरकार बन्यो ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

By:

शनिबार, २८ पुष २०७५

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!