Mountain Television
Wed, 14 Nov 2018

नरदेवी चिकित्सालयमा विशेषज्ञ चिकित्सकको अभाव

काठमाडौं, १७ कात्तिक । केन्द्रीय आयुर्वेद चिकित्सालय नरदेवीमा विशेषज्ञ चिकित्सकहरूको अभावमा सहज उपचार सेवा दिन कठिनाइ भएको छ । बहिरङ्ग (ओपीडी)मा मात्र दैनिक १५० जना बिरामी आउने सरकारको एक मात्र आयुर्वेद चिकित्सालयमा विशेषज्ञ चिकित्सकहरुको अभाव भएको अस्पतालले जानकारी दिएको छ ।

केन्द्रीय आयुर्वेद चिकित्सालय नरदेवीका निर्देशक डा. श्यामबाबु यादवले केन्द्रीय चिकित्सालय पुरानै ढर्रामा चलिरहेको जानकारी दिदै विशेषज्ञ चिकित्सकको दरबन्दी भए थप उपचार गर्न सहज हुने बताए ।

वि. सं १९७४ वैशाख शुक्ल तृतीयाको दिन स्थापित आयुर्वेद अस्पताल हाल सय शैय्यामा बिरामीहरूलाई उपचार दिइरहेको छ । चार शैय्याबाट १०१ वर्षअघि सुरु भएको अस्पतालले २००८ सालमा ८ शैय्या, २०१६ सालमा १६ शैय्या, २०२९ सालमा २५ शैय्या, २०३५ सालमा ५० शैय्या, २०४५ सालमा सय शैय्या सञ्चालनमा ल्याएको छ ।

अस्पतालमा हाल क्याबिन सहित ११८ शैय्या क्षमतामा सञ्चालित छ । निर्देशक डा. यादवले आयुर्वेद चिकित्सा शिक्षाको क्षेत्रमा पहिलो संस्थाको रूपमा नरदेवी चिकित्सालयको स्थापना भएको जानकारी दिए । उनले नेपालको मौलिक चिकित्सा पद्धतिको रूपमा रहेको आयुर्वेद चिकित्सा पद्धतिबाट सम्भव सबै रोगको उपचार नरदेवीबाट प्रदान गरिने जानकारी दिदै विशेषज्ञ सेवाको लागि सरकारबाट चासो नदिदा समस्या भएको बताए ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

By:

2 weeks ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...