Mountain Television
Sat, 20 Oct 2018

कसले बजाउला मुवाली

भक्तपुर, २२ असोज । एउटा बाजाको धुनमा पनि ठूलो शक्ति हुन्छ । कहिल्यै नरुने मान्छेलाई पनि रुवाइदिन सक्छ । अशान्त मनलाई शान्त बनाइदिन सक्छ । तर भक्तपुरमा बजाइने मुवाली बाजा भने केही फरक छ ।

छ दशकदेखि मुवाली बजाउँदै आएका भक्तपुरको याछेंका गुणकाजी कपालीका अनुसार मुवाली बाजाको धुनले शान्त मानिस पनि एकै छिनमा रिसाउने बनाइदिन सक्छ र पानी नपर्ने याममा पनि पानी पारिदिन सक्छ । ‘तर यो धुन विशेष परिस्थितिहरूमा मात्रै बजाउने गरिन्छ,’ ७४ वर्षीय कपालीले भने, ‘देशमा अनिकाल लागेको बेला र खडेरी परेका बेला यो बजाउने गरिन्छ ।’

यो बाहेक भक्तपुरका विशेष चाडपर्वमा गुणकाजीहरूले नै मुवाली बाजा बजाउनुपर्छ । गुणकाजी भक्तपुरको मुवाली बाजाका नाइके अर्थात् गुरु पनि हुन् । गुरु ज्ञानमान कपालीबाट सिक्दा उनी जम्मा १२ वर्षका थिए । अहिले उनकै नेतृत्वमा मुवाली बाजा बज्ने गर्छ । भक्तपुरमा नाचिने नवदुर्गा नाचमा यो बाजा महत्त्वपूर्ण हो । घण्टाकर्णमा नवदुर्गाको मुकुन्डो बनाउन सुरु गर्ने दिनमा र दसैंको नवमीको दिनमा नवदुर्गाको मुुकुन्डो प्रदर्शनदेखि हस्तान्तरण गर्ने दिनमा यो बाजा अनिवार्य बजाउनुपर्छ ।

तर गुणकाजीका अनुसार यो वर्ष घण्टाकर्णमा उनीहरू बाजा बजाउन गएनन् । बजाएको ज्याला नपाएकाले उनीहरू नगएका हुन् । हरेक वर्ष नवदुर्गाको मुकुन्डो बनाउने पूर्ण चित्रकारले नै उनीहरूलाई ज्याला दिने गरेका थिए । तर पूर्णले यसपालिको घण्टाकर्णमा ज्याला दिन नसकेपछि मुवाली बाजा बजाउन नगएका हुन् । ‘कुरा पैसाको मात्रै हैन,’ उनले भने, ‘हामीलाई अरूले पनि बाजा बजाउने भनेर हेप्यो । बाजा बजाउने भन्दैमा आत्मसम्मान नै हुन्न भन्ने हैन नि । त्यसैले गएनौं ।’ तर यसपालि नवमीको दिनमा भने उनीहरू ज्याला नपाए पनि बजाउन भने छोड्दैनन् । नवमीको दिनमा उनीहरू बाजा बजाउँदै च्यामासिंको ब्रह्मायणी मन्दिर, दत्तात्रय, तलेजु भवानी र बेलुका नवदुर्गाको मुकुन्डो हस्तान्तरण गर्ने कार्यक्रममा पुग्छन् ।

‘पैसा नपाए पनि भगवानका लागि बजाउन जानुपर्छ,’ उनले भने, ‘यसपालि घण्टाकर्णको दिन रोक्दा नराम्रो लाग्यो आफैंलाई । नवमीको दिन रोक्ने मन छैन ।’ मुवाली बजाउनका लागि १२ जवानहरू चाहिन्छ । यसमा ढोलक १ जनाले, झ्याली २ जनाले, ट्याम्का १ जना र मुवाली सात जनाले बजाउने गर्छन् । पैसा र बाली नभएकाले उनको समुदायको मानिसले अहिले यो बाजा बजाउनतिर नलागी अन्य पेसामै लागिरहेका छन् । ‘न पैसा, न सम्मान,’ उनले भने, ‘सिक्नेहरू पनि दिक्दार भए ।’

पहिले यो बाजा बजाउनेहरूको पनि जग्गा धेरै थियो, जग्गा अहिले कति मानिसले हडपिएको उनी आरोप लगाउँछन् । पहिले ६र७ मुरी त जग्गाको बाली मात्रै आउँथ्यो । अहिले त्यो घटेर १० पाथी पनि आउँदैन । गुणकाजीका तीनै छोराहरूलाई मुवाली बाजा बजाउन आउँछ । भूकम्पले घर क्षति भएपछि उनको छोराहरू याछेंबाट अन्यत्र डेरा लिएर बस्न बाध्य भए । उनका छोरा ज्ञानेश्वर कपाली सिलाइको काम गर्छन् । मुवाली बाजा बजाएर खानलाउनै नपुगेकाले अन्य पेसामा लाग्नुपरेको उनी बताउँछन् । काठमाडौंको इन्द्रजात्रामा पनि छ दिन पाँच जनाको टोलीले बजाएर आए । तर पुग्दो पारिश्रमिक नपाएकोले उनीहरू आक्रोशित थिए ।

८५ वर्षे हरिगोविन्द रञ्जित भक्तपुरको नौबाजाका गुरु हुन् । नौबाजामा धाँ, कोट, पोङगा, मुवाली, ढाँचा, धिमेचा, न्याखिँचा, पश्चिमा, ढोलक र नगरा गरी १० बाजा हुन्छ । हरिगोविन्दका अनुसार नौबाजामा पनि मुवाली मुख्य हुन्छ । धाँ र कोट बजाएका बेला पोङगा बजाइन्छ भने अन्य बाजा बजाएका बेलामा मुवाली बजाउनुपर्छ । हरिगोविन्दलाई यी सबै बाजा बजाउन आउँछ ।

पचास वर्षदेखि यी नौ नै थरी बाजा बजाउन आउने अरू कोही पनि आएका थिएनन् । ‘बल्ल एक जना भयो,’ उनले भने, ‘कोही नहोला भनेर पिर भएको थियो ।’ उनकै टोलका युवा वाद्यवादक मनीष शिल्पकारलाई नौ थरी बाजा नै बजाउन आउँछ । मुवाली बाजा नबजे नौ बाजा अधुरो हुने उल्लेख गर्दै हरिगोविन्दले यो बाजा बजाउनेलाई प्रोत्साहन दिने काम कुनै संस्थाले नगरेको गुनासो पोखे ।
‘मुवाली बाजा बजाउनेहरूबारे कसैले वास्ता गरेको छैन,’ उनले आक्रोश पोखे, ‘मुखले मात्रै संस्कृति बचाउँछु भन्छन्, हाम्रो सीप हस्तान्तरण गर्ने अवसर जुटाइदिएको खै ।’

उनी यी बाजा लिएर जर्मनी, स्वीट्जरल्याण्ड, हल्याण्ड, अष्ट्रिया, फ्रान्स, इटाली, धेरै ठाउँ गएका छन् । नेपालका परम्परागत बाजा सिक्न आएका एक विदेशीले उनीहरूलाई लगेका थिए । २०४२ सालदेखि यहाँ बसेकाले त्यो विदेशीलाई पनि नेपाली बोल्न आएको थियो । त्यसैले उनीहरूलाई विदेशमा बोल्न भने समस्या भएन । एक महिनामा गएर बजाएकोमा हरिगोविन्दले ५० हजार रुपैयाँ पाएका थिए भने अरूले २५ हजार रुपैयाँ पाएका थिए ।

इटाली जाँदा १४ हजार रुपैयाँ पाएका थिए । ‘घुम्न नि पाइयो, आफ्नो कौशल देखाएर पैसा नि पाइयो,’ उनले भने, ‘हामीलाई यस्तो अवसर नेपालमा भएन ।’ नेपालमा २०५५ मा भक्तपुर महोत्सव भएका बेला बजाउन बोलाइएको थियो, अन्य बेलामा भने वास्ता समेत नगरेको उनले बताए । ‘हामीले बजाउन जानेर के गर्नु, सित्तै जाने भयो,’ आफूले जानेको सीप हस्तान्तरण गर्न नपाएपछि दुखेसो पोख्दै उनले भने, ‘यो क्षेत्रमा लागेर केही प्रगति हुने भए पो लाग्थे । सम्भावना नै देखाउन सकिएन ।’कान्तिपुरबाट

By:

2 weeks ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...