Mountain Television
Thu, 15 Nov 2018

प्रहरी हिरासतमै हुने व्यक्ति हत्याको जिम्मेवारी कसले लिने ?

काठमाडौं, २९ भदौ । राष्ट्रिय जनता पार्टीले संसदीय छानबिन समिति बनाएर प्रहरी हिरासतमा मृत्यु भएका बर्दियाका राममनोहर यादवको घटनाको छानविन गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा राजपाका सांसद लक्ष्मणलाल कर्णले संसदीय छानविन समिति बनाई यादवको मृत्युको घटनाबारे छानविन अघि बढाउन माग गरे ।

उनले घटनाबारे सत्य तथ्य बाहिर ल्याउन समिति बनोस् जाँचबुझ होस् भनेर पटक पटक सरकारको ध्यानाकर्षण गराउँदा सुनुवाई नभएको भन्दै त्यसबारे गृहमन्त्रीको जवाफ माग गरे ।

उनले भने “मुलुकमा दिनहुँ बलात्कार र हत्या भईरहेको छ संसदका माननियहरुले हरेक दिन प्रश्न उठाईरहनुभएको छ तर सरकार गम्भीर छैन । प्रहरी हिरासतमा नै राम मनोहर यादवको हत्या भएको छ । प्रहरी हिरासतमै व्यक्ति हत्या हुन्छ भने अब कसले जिम्मेवारी लिने ?”

मन्त्रीलाई कालो झण्डा देखाएको नाममा बर्दियाका राममनोहर यादवलाई नियन्त्रणमा लिने काम भएको भन्दै उनले भने “अब के गर्ने लठ्ठी देखाउने ? भाला देखाउने ? बन्दुक देखाउने ? आफ्नो विरोध प्रदर्शनका लागि उसले कालो झण्डा देखायो । प्रहरी हिरासतमै ७ गते देखि १६ गते सम्म बस्दा व्यक्तिको मृत्यु भयो भने के कारणले मृत्यु भयो ? किन प्रहरीले मारे ? किन गृह प्रशासनको जिम्मेवारी हो कि होइन ? किन अवगत गराएन आज सम्म ?”

घटनाबारे सरकारको चित्त बुझ्दो जवाफ नआएसम्म सदन चल्न नसक्ने भन्दै उनले भने “लापरवाही र मानवअधिकार हनन् यो देशमा हुन्छ भने यो संसदको कुनै औचित्य हुँदैन । त्यसकारण हामी आज यस संसद चल्न दिन्नौ ।”

कर्णले बोलिसकेपछि पनि राजपाका सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुखले त्यसबारे गृहमन्त्रीले जानकारी दिने कार्यक्रम रहेको बताएपछि उनीहरुले आसन ग्रहण गरेका थिए ।

By:

2 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...