Mountain Television
Thu, 16 Aug 2018

प्रतिनिधिसभा बैठक : ‘सरकार समृद्धिको नभई मुल्यवृद्धिको’

काठमाडौं, ३१ जेठ । संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र अर्थ मन्त्रालयका लागि विनियोजित विधेयकमाथि बिहीबार प्रतिनिधिसभा बैठकमा छलफल भईरहेको छ ।

सत्ता पक्षकै सांसदले ती मन्त्रालय अन्र्तगत विनियोजित बजेटको आलोचना गरेका छन् । नेकपाका सांसद खगराज अधिकारीले अर्थमन्त्रीले युनिक बजेट ल्याएपनि शीर्षगत विनियोजन र प्राथमिकता तथा तात्कालिन आवश्यकतालाई समेट्न नसकेको टिप्पणी गरे ।

विशेष गरेर मौद्रिक नीति र पर्यटन प्रवद्र्धनको प्राथमिकताका विषयमा उनले गम्भीर प्रश्न उठाए । उनले भने “प्रतिपक्षीले त नियमित धर्म नै भयो विरोधै गर्नु तर सत्ता पक्षले पनि जोडदार रुपमा समर्थन गर्ने मेलो मेसो भेउ पाउनै गाह्रो भो ।”

“किन बैकहरु सुन खोरहरुको अखडा बनेका छन् ? व्याज दरको फरक किन यति ठूलो भएको छ ? त्यसको समाधानको खास कार्यक्रमहरु अर्थमन्त्रालयबाट आउनु पर्छ कि पर्दैन ?” बैकहरुले बचत र ऋण प्रवाहका लागि तोकिएको व्याजदरको भिन्नता अत्यन्तै बढी भएको भन्दै उनले प्रश्न गर्दै भने, “जनताले ऋण लिए भने १४ /१५ प्रतिशत व्याज तिर्नुपर्ने र उनीहरुले पैसा राखे भने ४/५ प्रतिशत तिरे हुने यति ठुलो फरक संसारमा कहि छ कि छैन ?

यो मौद्रिक अर्थशाास्त्र मैले पढिनँ, सामान्य अर्थशास्त्रको विद्यार्थी भएँ, मैले यो कुरा जान्न पाउनुपर्छ ।” उनले जनताको ढाड सेक्ने गरि व्याजदर नियन्त्रण गर्ने गरि बजेट आउनुपर्ने तर्क गरे ।

पर्यटन मन्त्रालयको विनियोजित बजेटका सम्बन्धमा भने उनले बजेट कर्णालीमय बन्दा बन्दै विश्वरामसार क्षेत्रमा परेका बेगनास, रुपा, निरुरिनी लगायतका तालका संरक्षण सम्बद्र्धन गर्ने विषय पछि परेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराए ।

पुरिदै गरेका र अतिक्रमणमा पर्दै गरेका तालको संरक्षणमा कार्यक्रम केन्द्रीत हुन नसकेको उनले टिप्पणी गरे । कतिपय संस्कृति संरक्षणका विषयमा पनि बजेट विनियोजन हुन नसकेको भन्दै उनले त्यस तर्फ मन्त्रालयको ध्यानाकर्षण गराए।

नेपाली कांग्रेसका सांसद संञ्जयकुमार गौतमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगतको विनियोजित बजेटले सरकारको नीतिलाई पछ्याउँदै ठोस कार्यक्रम ल्याउन नसकेको टिप्पणी गरे ।

कर्णालीलाई प्राथमिकता दिँदै गर्दा बजेटले बर्दिया राष्ट्रिय निकुञ्जलाई उपेक्षा गरेको अनुभुति भएको उनले बताए । नेपालगञ्ज विमानस्थल सुधारका लागि पनि उनले पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराए ।

नेकपाका सांसद खगराज अधिकारी बोले लगत्तै आफ्नो धारणा राख्न रोष्टम पुगेका सांसद गौतमले आफ्नो क्षेत्रको बजेट र कार्यक्रम समावेश नहुँदा सांसद अधिकारीले व्यक्त गरेको गुनासोलाई लक्षित गर्दै भने “पद्धती त फेर्यौ हामीले तर प्रवृति फेरिएन भन्ने गर्छु, आज अलिकति खुसी लाग्यो । सापको खुट्टा सापले नै देख्छ सत्ता पक्षका साथीलाई पनि निर्वाचन क्षेत्रको माया लाग्दो रहेछ कमसेकम त्यो प्रतिपक्षीमा बस्ने साथीहरुको पीडा पनि अनुभुति हुन्छ होला निर्वाचित भएर आउँदा कस्तो गाह्रो हुन्छ । ”

यसअघि खर्च कटौतिको प्रस्ताव पेस गर्दै सांसद प्रमिला राईले दुई तिहाई वहुमतको आडमा सरकार संबैधानिक व्यवस्थालाई मिचेर अघि बढ्न लागेको भन्दै यसमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराइन् ।

त्यसैगरी सांसद प्रकाश रसाईली स्नेहीले बजार मुल्य प्रति सरकार गम्भीर नभएको र प्रधानमन्त्री स्वंमले खेलाची लिएको भन्दै गम्भीर आपत्ती जनाए । बजारमा अस्वभाविक मुल्यवृद्धि भएको र कालोबजारी फस्टाउँदै गएको भन्दै उनले सरकार समृद्धिको नभई मुल्यवृद्धिको भएको टिप्पणी गरे ।

By:

2 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...