Mountain Television
Wed, 14 Nov 2018

“रणवीर निकै चुलबुले छन्”

काठमाडौँ, २९ जेठ । रंगमञ्च हुँदै उदाएका कलाकार भोलाराज सापकोटा अभिनयमा उम्दा मानिन्छन् । पछिल्लो समय उनी रंगमञ्चमा कम, फिल्म अभिनयमा ज्यादा देखिन थालेका छन् । अझ अनुराग बसु निर्देशित ‘बर्फी’ मा नायक रणवीर कपुरको साथीका रूपमा देखिएपछि त स्वदेशी फिल्ममा उनको क्रेज हात्तै बढ्यो ।

यति बेला बायोपिक ‘सन्जु’ रिलिजको पूर्वाद्र्धमा अभिनेता सञ्जय दत्तका भिन्नभिन्न लुक्स र हाउभाउमा आफूलाई सिद्ध गरेर निकै चर्चामा आएका रणवीरसँग सात वर्षअघि नै भोलाराजले छोटो तर मीठो संगत गर्न पाए । नजिकबाट काम र स्वभाव नियाल्न पाएका रणवीरका बारेमा सम्झने क्रममा सापकोटा यसरी विगततिर फर्के । ‘बर्फी’ मा जोडिनुमा नै रमाइलो किस्सा छ । एक दिन प्रशान्त रसाइलीले मुम्बईबाट फोन गरे ।

हिन्दी फिल्ममा कलाकारका रूपमा अडिसन दिन बोलाउन रहेछ । पहिलो र दोस्रो अडिसनपछि फिल्म खेल्न छनोट भएँ । सुरुमा त आफैलाई विश्वास लागेको थिएन । तर जसै सुटिङ भयो, यस क्रममा रणवीर कपुरलाई नजिकबाट नियाल्न पाएँ । उनी रमाइला र ख्यालठट्टा मन पराउने रसिक मान्छे रहेछन् । ‘तिमीहरूको भाषामा छाडा शब्दको उच्चारण कसरी गर्ने गर्छौ ’ उनी यस्तै उटपटयाङ जिज्ञासा राख्दै जान्थे । मचाहिँ सकेसम्म चूप लागेर टार्न खोज्थें । उनी जिद्दी र चुलबुले पनि उत्तिकै छन् ।

एउटा कुरामा लागेपछि चुरो फेला नपार्दासम्म लाग्या लाग्यै गर्ने खालका । उनको अनुरोधको अगाडि मेरो केही सीप लाग्थेन । आखिर उनलाई केही छाडा शब्दको नेपाली उच्चारण सिकाउन करै लाग्यो । रमाइलो त के भयो भने उनी त्यही शब्द अरू साथीहरूसँग रमाइलो गर्दै सेयर गर्न थाले । र, फिल्म सेटका अरू मान्छेले पनि जोक्सकै रूपमा ती शब्द बोल्न थाले । त्यो दिन सेटभरि हाँसो छाइरह्यो ।

रणवीरको अर्को बानी भनेको केटीहरूबारे ठट्टा गरिरहने पनि हो । ‘नेपालका केटीहरू कस्ता हुन्छन् ’ भन्दै रोमान्टिक मुडमा कुरा खोतल्न चाहन्थे उनी । मचाहिँ मुसुमुसु हाँसेरै टार्दिन्थें । रणवीरको त्यो चुलबुले पारा र मेरो निरीहता सम्झिँदा अहिले भित्रभित्रै हाँसो उठ्छ । सुटिङ क्रममा मुम्बई र दार्जिलिङमा उनीसँग संगालेका केही क्षण निकै मन छुने छन् । उनी मेरा नजिकका साथी भइसकेका थिए । हरेक रमाइला क्षणमा उनी सकभर मलाई सामेल गराउँथे । कला क्षेत्रको अनुभवको हिसाबले उनी मभन्दा परिपक्व थिए ।

तर, उनले कहिल्यै ममा त्यो भान पारेनन् । एक दिन सुटिङमै थियौं, हामी । कलाकार सौरभ शुक्लालाई देखेर म अलिक नर्भस भएछु । आफ्नो पालोमा फिल्मको डायलग बोल्न अकमकिएँ । सौरभले ‘इसको हटाओ’ भन्दै अलिक डर लाग्दै तरिकाले नै रियल डायलग मारे । मुटु ढक्क फुलेर आयो । अनुहार रात्तै भयो । मेरो यो हालत देखेर रणवीरले भने, ‘भोलाको म्युजिक लगादो फिर एक्टिङ करेगा ।’ नभन्दै गीत सुनेर एक छिनपछि टेकका लागि रेडी भएँ । आत्मविश्वास एक्कासि बढेर आयो । त्यति बेला रणवीर मेरो साइकोलजी बुझ्न सिपालु भइसकेका थिए ।

रणवीरको सरलपनले गर्दा पनि मलाई त्यो फिल्ममा आफ्नो अभिनय निर्धक्कसाथ तिखार्ने माहोल मिलेको जस्तो लाग्छ । उनको यो विशेषताबाट मलाई के लाग्यो भने कलाकारहरू सरल हुनुपर्दो रहेछ । सुटिङको पहिलो दिन पनि म डरले रातै भएको थिएँ । कुन कलाकारसँग खेल्दै छु भन्नेसमेत हेक्का थिएन । भुइँमा लडिरहेकी युवतीलाई हेर्ने तर, नउठाउने दृश्य थियो । मैले उसै गरें । एक छिनपछि ती युवती कहाँ गइन् पत्तो नै पाइनँ । एकै छिनको ब्रेक लिएर सेटमा आउँदै थिएँ, अग्ली, सुन्दर युवती अगाडि उभिइन् । ती प्रियंका चोपडा पो रहिछन् ।

उनीसँगको अनुभव भने हाई हेल्लोभन्दा अघि बढ्न सकेन । ‘बर्फी’ फिल्म नआउँदासम्म साथीहरूलाई मेरो अनुबन्धबारे विश्वास दिलाउनसमेत मुस्किल परेको थियो । धेरैले बलिउड फिल्म खेल्नुलाई ठूलो माने । अब यसको स्वभाव बदलिन्छ होला भन्दै अडकल काटे । तर, मलाई खासै केही लागेन । त्यो एउटा सानो अभिनय कर्म मात्रै थियो । म त सँधै उही हुँ, ‘भोला’ । कान्तिपुरबाट

By:

5 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...