Mountain Television
Wed, 12 Dec 2018

इजरायल र प्यालेस्टाइनको सीमा क्षेत्र गाजामा चार वर्षयताकै ठूलो हिंसा

काठमाडौं, १ जेठ । इजरायल र प्यालेस्टाइनबीचको झडपमा परी ५५ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ ।

इजरायलको जेरुसेलममा अमेरिकी दूतावास खोलेको विरोधमा प्यालेस्टिनी नागरिकले सीमा क्षेत्र गाजामा गरेको प्रदर्शनमा इजरायली सेनाले हमला गर्दा ५५ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको हो । प्यालेस्टिनी अधिकारीका अनुसार झडपमा परी २ हजार ७ सयभन्दा बढी घाइते भएका छन् । गाजाका विभिन्न १३ स्थानमा करिब ४० हजारभन्दा बढी प्यालेस्टिनी समर्थकहरु प्रदर्शनमा सामेल भएको इजरायलले दाबी गरेको छ ।

प्यालेस्टिनी आन्दोलनकारीले ढुंगामुढा प्रहार गरेपछि आफ्नो सेनाले अश्रु ग्यास र स्निपरमार्फत गोली प्रहार गरेको इजरायलले बताएको छ । गाजा क्षेत्रमा सन् २०१४ देखि भएका अन्दोलनका घटनामध्ये यसपटक सबैभन्दा बढी मानवीय क्षती भएको हो । अमेरिकाले घटनाको जिम्मेवारी प्यालेस्टिनी समूह हमासले लिनुपर्ने तथा हमासले जानी बुझिकनै प्यालेस्टिनीहरुलाई इजरायलको विरुद्धमा खडा हुन उत्तेजित बनाएको आरोप लगाएको छ । अन्तराष्ट्रिय समुदायले थप क्षति हुन नदिन दुवै देशलाई संयमता अपनाउन अनुरोध गरेको छ ।

युरोपियन युनियन, कुवेत, जर्मनी, बेलायत, फ्रान्स, टर्की, दक्षिण अफ्रिका, संयुक्त राष्ट्रसंघलगायतले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको स्वतन्त्र रुपमा छानविन गर्न र शान्तिपूर्ण तवरबाट समस्या सुल्झाउन आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघले गाजामा मानव अधिकारको चरम उल्लंघन भएको बताएको छ । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले घटनालाई एउटा नरसंहारको संज्ञा दिएका छन् । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले प्रदर्शनकारीमाथि इजरायली सशस्त्र फौजबाट गरिएको हिंसाको भत्र्सना गरेका छन् ।

बेलायतले भने आफ्नो सिमानाको रक्षा गर्न पाउने इजरायलको अधिकार भएको भन्दै उच्च संयम अपनाउन आग्रह गरेको छ । प्यालेष्टिनीको व्यापक विरोधका वावजुद अमेरिकाले आफ्नो राजदूतावासलाई तेल अबिबबाट जेरूसेलममा सारेको छ ।

By:

7 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!