Mountain Television
Sun, 22 Jul 2018

फुटबलको मणि-युगलाई अलबिदा

काठमाडौं, १ जेठ । सन् १९८० को दशकमा अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोना चर्चाको शिखरमा थिए। ठीक त्यही बेला नेपालमा म्याराडोनाजस्तै युवा फुटबल खेलाडी मणिविक्रम शाहको उदय भयो। मणिको उचाइ, कपालको स्टाइल, देब्रे खुट्टाले बल प्रहार गर्ने शैली र जर्सी नम्बर १० समेत सबै म्याराडोनासँग मिल्दोजुल्दो थियो। मैदानमा उनै मणिको प्रदर्शनलाई लिएर सबैले उनलाई ‘नेपाली म्याराडोना’को उपमा दिए।
यथार्थमा नेपाली फुटबलका ‘मणि’का रूपमा एक दशक राष्ट्रिय टोलीमा सनसनी मच्चाएका उनले सन् १९८५ मा आयोजित दोस्रो दक्षिण एसियाली खेलकुद साग गेम्सबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। त्यतिबेला उनी भर्खर १७ वर्षका थिए। मणि नेपाली फुटबलले पाएको अहिलेसम्मकै उत्कृष्ट एट्याकिङ मिडफिल्डर थिए। उनले सन् १९८५ देखि १९९८ सम्म राष्ट्रिय टोलीबाट खेले।

सन् १९९३ मा बंगलादेशको ढाकामा आयोजित दक्षिण एसियाली खेलकुदमा नेपालले एक मात्र स्वर्ण जित्दा प्ले मेकरका रूपमा मणिको भूमिका उल्लेखनीय थियो। उनले राष्ट्रिय टोलीबाट खेलेका ४८ खेलमा ६ गोल गरे। त्यसबीच उनले दुई वर्ष राष्ट्रिय टोलीको कप्तानी पनि सम्हाले। सागमा गरेको एउटा गोलले उनलाई सर्वाधिक चर्चित मात्र बनाएर नेपालीबीच लोकप्रिय पनि बनायो। मणिले प्रहार गरेको जादुमय फ्रिकिक दर्शनीय गोलमा परिणत भएपछि नेपालले सन् १९९३ को साग गेम्समा स्वर्ण जितेको थियो। यो नेपाली फुटबल इतिहासको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण थियो।

मणिले भारतविरुद्ध विश्वस्तरीय फ्रिकिक प्रहार गरेका थिए। उनको त्यो फ्रिकिक गोलले नेपाली फुटबलको कीर्तिमानी स्वर्णीम इतिहास रच्यो। बंगलादेशको ढाकामा भएको सागको फाइनलमा नेपाल भारतसँग प्रतिस्पर्धा गर्दै थियो। फुटबल फाइनल खेल्नुअघि नेपालले कुनै पनि खेलमा स्वर्ण जित्न सफल भएको थिएन। फुटबलमा स्वर्ण नजिते नेपाल स्वर्णविहीन भएर स्वदेश फर्कनु पथ्र्यो।

प्रतिस्पर्धात्मक खेलमा चिरप्रतिद्वन्द्वी भारतले नेपालविरुद्ध पहिलो हाफमा अग्रता लिइसकेको थियो। दोस्रो हाफमा उमेश प्रधानले गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए। तर ८४ औं मिनेटमा भारतका आईएम विजयनले गोल गर्दै खेलमा २–१ बाट भारतलाई फेरि अग्रता दिलाए। विजयनको गोलले नेपाली टोली स्तब्ध बन्यो, प्यारापिटमा नेपालका सर्मथक निराश देखिए।

सास छउन्जेल आस भनेझै नेपाली टोलीको पनि आस मरेको थिएन, निराश भइसकेको थिएन। एउटा चर्चित भनाइ छ– फुटबलमा ९० मिनेटभित्र जे पनि हुनसक्छ। नभन्दै नेपालका लागि त्यो भनाइ सत्य साबित भयो। नेपाली टोलीले हरेस खाएन। खेल सकिन दुई मिनेट बाँकी थियो। नेपालले करिब ३५ यार्ड टाढाबाट फ्रिकिकको अवसर पायो। प्रशिक्षकले फ्रिकिक हान्ने अनुमति उनै मणिलाई दिएका थिए। मणिको लामो फ्रिकिक भारतीय गोलरक्षकले भेउ नै पाएनन् र बलले सोझै जाली चुम्यो। ‘गोलपोस्टको देब्रे साइड च्यापेर मैले गरेको प्रहार भारतीय गोलरक्षकले बचाउने प्रयास गरे तर सकेनन्, त्यो उनका लागि असम्भवजस्तै थियो’, मणिले भेटमा भनेका थिए।

मणिको फ्रिकिक गोलपछि निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकियो। अतिरिक्त समयमा दुवै टोलीले थप गोल गर्न सकेनन्। खेल टाइब्रेकरमा धकेलियो। टाइब्रेकरमा नेपालले भारतलाई ४–३ गोलले हरायो र उपाधि उचाल्यो। मणिले टाइब्रेकरमा पनि गोल गरे। नेपालको सिनियर टोलीले फुटबलमा जितेको यो अहिलेसम्मकै पहिलो र अन्तिम उपाधि पनि हो। त्यसको खुसीले वर्षौंसम्म आफू रोमान्चित हुने गरेको मणिले अन्नपूर्ण पोस्ट्सँग ६ महिनाअघि मात्र भनेका थिए।

त्यतिबेला साग फुटबलमा सिनियर टोलीले प्रतिस्पर्धा गर्थे। तर अहिले टोलीमा तीनजना सिनियर र बाँकी यू–२३ खेलाडीले खेल्ने प्रावधान छ। १३ वर्ष राष्ट्रिय फुटबल टोलीमा बिताएका मणिले ६ जना विदेशी प्रशिक्षकसँग प्रशिक्षण लिने मौका पाए। उनको खेल निखार्ने काम भने ब्राजिलका प्रशिक्षक सान्तोष र आइरिस प्रशिक्षक जो किन्नरले गरे। टोट्टनहामका खेलाडीसमेत रहेका किन्नरले मणिको पोजिसन नै परिवर्तन गरिदिए। सधैं स्ट्राइकरमा खेलिरहेका मणिलाई किन्नरले मिडफिल्डमा झारे।

किन्नरले सुट कडा हान्छ भनेर मणिलाई मिडफिल्डमा झारेका थिए। मिडफिल्डमा खेलेपछि मणि फ्रिकिकको विशेषज्ञ नै भए। पछि ब्राजिलका प्रशिक्षक सान्तोष छोटो समयका लागि नेपाल आए। उनी कडा अभ्यास गराउँथे। अभ्यासका क्रममा मणिलाई दैनिक दुई सय फ्रिकिक हान्न लगाइन्थ्यो। त्यतिबेला मणिको तौलसमेत स्वाट्टै घटेको थियो।

सान्तोषको त्यही प्रशिक्षणले उनको फ्रिकिक प्रहार गर्ने शैलीमा आमूल परिवर्तन ल्यायो। फलस्वरूप उनी कर्नरकिक, फ्रिकिक र पेनाल्टी प्रहारमा सधैं प्रशिक्षकको रोजाइमा परे। बुबा लक्ष्मण शाहको प्रेरणामा फुटबलमा लागेका मणिले नेपालको आरसीटी, एनआरटी, फ्रेन्ड्स, ब्वाइज युनियन, आरएनएसीबाट खेले। उनले लामो समय मनाङ मस्र्याङदी क्लबबाट खेले। मनाङलाई ‘सी’ बाट ‘ए’ डिभिजन मा पुर्‍याउन र ‘ए’ मा पुग्नासाथ उपाधि दिलाउन मणिको ठूलो योगदान थियो। मणिप्रेरित मनाङले ‘सी’ देखि ‘ए’ डिभिजनसम्मको यात्रामा एक गोल पनि खाएन। त्यो पनि मणिको जीवनको अविस्मरणीय क्षण थियो।

उमेर समूहदेखि राष्ट्रिय टोलीमा सबै स्तरका खेल खेलेका मणिले १९९८ मा फुटबलबाट संन्यास लिए। एन्फामा १२ वर्ष उपाध्यक्षको भूमिकामा रहेका मणि २०५२ सालदेखि राष्ट्रिय खेलकुद परिषद्को फुटबल प्रशिक्षक थिए। मणि नेपाली म्याराडोना मात्र थिएनन्, म्याराडोनाका असली फ्यान पनि थिए। उनै ५१ वर्षीय नेपाली म्याराडोना मणिविक्रम शाहको सोमबार बेलुका निधन भएको छ।

पित्तथैली र कलेजोको समस्याबाट लामो समयदेखि पीडित शाहलाई आइतबार साँझ उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो। सोमबार बिहान भेन्टिलेटरमा राखेर उपचार गरिएका शाहको उपचारकै क्रममा बेलुका निधन भएको हो। मणिको उपचारमा लागेको सम्पूर्ण खर्च अखिल नेपाल फुटबल संघ (एन्फा) ले बेहोर्ने एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए। मणिको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन मंगलबार बिहान १० देखि १२ बजेसम्म दशरथ रंगशाला परिसरमा राखिनेछ। त्यसपछि आर्यघाटमा अन्तिम संस्कार गरिने एन्फाले जनाएको छ। उनका पत्नी र छोरी छन्। आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।

By:

2 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!