Mountain Television
Wed, 12 Dec 2018

राष्ट्रिय चिकित्सा शिक्षा सहितका ४ वटा अध्यादेश स्विकृत

काठमाडौं, २६ वैशाख । राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५ संसदले स्विकृत गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५ लाई स्विकृत गरियोस्’ भनि राखेको प्रस्ताव बहुमतले स्विकृत भएको हो ।

विधेयकको विपक्षमा सांसद प्रेम सुवालले मत दिएका थिए । सो अवसरमा उनले काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल क्याम्पस खोल्न नपाउने लगायतको व्यवस्था विधेयकबाट हटाउनुपर्ने माग समेत राखेका थिए ।

यता शिक्षामन्त्री पोखरेलले चिकित्सा शिक्षामा देखिएको विकृति अन्त्य गर्न सरकारले नयाँ ऐनको व्यवस्था गर्न लागेको बताए । उनले आवश्यक्ताको आधारमा मेडिकल शिक्षा सबै प्रदेश र क्षेत्रमा स्थापना गर्नेगरी अध्यादेशमा व्यवस्था गरिएको  स्पष्ट पारे ।

बैठकले ‘वेपत्ता पारिएका व्यक्तिको छानवीन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश’ पनि बहुमतले स्विकृत गरेको छ । यसैगरी ‘संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धि अध्यादेश’ पनि स्विकृत गरिएको छ ।

सरकारको तर्फबाट दुवै अध्यादेश कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले प्रतिनिधिसभा बैठकमा स्विकृतिका लागि प्रस्ताव पेश गरेका थिए। प्रतिनिधिसभा बैठकले ‘राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७५’ पनि स्विकृत गरेको छ ।

By:

7 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!