Mountain Television
Sun, 22 Jul 2018

पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन गम्भीर वार्ता जारी : प्रचण्ड

काठमाडौं, ३ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन गम्भीर वार्ता भईरहेको बताएका छन् ।

अध्यक्ष दाहालले पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन आफ्नो सम्पूर्ण ध्यान केन्द्रित भएको स्पष्ट पारे । उनले पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार विहान झण्डै २ घण्टा लामो छलफल गरिएको बताए ।

भोली विहान नौं बजे बस्ने पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकतालाई अघि बढाउन ठोस निर्णय लिने अध्यक्ष दाहालको भनाई छ । सोमबार काठमाडाैँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टी एकतालाई अघि बढाउने दायित्व पूरा गर्न आफूहरु केन्द्रित भएको बताए ।

अध्यक्ष दाहालले एमालेसँगको एकतालाई निष्कर्षमा पुर्‍याउने गरी पार्टी भित्र निर्णायक छलफल गर्ने तयारी गरेका छन् । अध्यक्ष दाहालमाथि पार्टी भित्रबाट एमालेसँगको एकता बराबरीको आधारमा गर्न दवाव परेको छ ।

बैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर पार्टी एकता गर्ने निर्णय लिएका दुवै दलको नेतृत्वले त्यसका लागि आ–आफ्नो पार्टी भित्रको तयारीलाई अन्तिम रुप दिने कामलाई अव अघि बढाउने तयारी गरेका छन् ।

अध्यक्ष दाहालले पार्टी एकताका लागि लिइएको जिम्मेवारी पूरा गर्ने दायित्व आफूहरुमाथि रहेको स्पष्ट पारे । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली भारत भ्रमणबाट फर्के लगत्तै पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने निर्णय भएपनि त्यसयता दुई पार्टीबीच एकतालाई अन्तिम रुप दिने विषयमा औंपचारिक छलफल समेत हुन सकेको थिएन ।

By:

3 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...