Mountain Television
Sun, 22 Jul 2018

सवारीसाधनबाट वर्षमा १६ करोड संगीतशुल्क उठाउने लक्ष्य

काठमाडौं, २ बैशाख । रोयल्टी संकलन संस्थाहरूले सार्वजनिक सवारीसाधनका प्रकारअनुसार रोयल्टी संकलन गर्ने कामलाई तीव्रता दिएका छन् । ‘सार्वजनिक यातायातको रुट परमिट दिने, रुट परिवर्तन गर्नेलगायतका काम गर्ने देशभरका ३१ वटा यातायात कार्यालयमा यसका लागि कर्मचारी खटाइसकिएको छ,’ संगीत रोयल्टी संकलक समाज नेपालका अध्यक्ष सुरेशचन्द्र अधिकारीले भने ।

यातायात रोयल्टी भन्नाले यातायात व्यवसायीले गीत–संगीतको सार्वजनिक प्रयोग गर्ने अनुमतिपत्र लिएबापत बुझाउनुपर्ने वार्षिक शुल्क हो । अनुमतिपत्र भने संगीत रोयल्टी संकलक समाज नेपालले वार्षिक रूपमा नवीकरण गर्ने गरी उपलब्ध गराउँछ ।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० अनुसार १८ चैत ०७४ देखि प्रभावकारी कार्यान्वयनमा लागिएको उनको भनाइ छ । ‘अहिलेसम्म राम्रै प्रतिक्रिया आइरहेको छ,’ उनले भने । संगीत रोयल्टी संकलन समाज नेपाल, प्रस्तोता समाज नेपाल र संगीत उत्पादक समाज नेपालले सार्वजनिक सवारीसाधनको प्रकारअनुसार ८ देखि २ हजार रुपैयाँसम्म रोयल्टी संकलन गर्न थालेका हुन् । ‘अब पूर्ण कार्यान्वयनमा लैजाँदै छौँ,’ उनले भने । यातायात व्यवस्थापन कार्यविधि निर्देशिकाले सार्वजनिक सवारीमा रोयल्टी अनिवार्य गरेको छ ।

पहिलो वर्ष १६ करोड रोयल्टी
संगीत रोयल्टी संकलन समाज नेपालका अनुसार पहिलो वर्ष १६ करोड रुपैयाँ रोयल्टी उठाउने लक्ष्य छ । यातायात व्यवस्था विभाग, प्रहरी यातायात व्यवसायीहरूको सहयोग रहेमा त्यो सहजै उठ्ने समाजको विश्वास छ । समाजका अनुसार उठ्ने रोयल्टी ४ भागमा विभाजन गरिनेछ । संगीतकार, रचनाकार, उत्पादक र प्रस्तोतालाई बराबर २५ प्रतिशत विभाजन गरिनेछ । १६ करोड रुपैयाँ रोयल्टी उठेमा हरेक क्षेत्रले ४ करोड रुपैयाँ पाउनेछन् ।

यो खबर आजको नयाँ पत्रीकामा प्रकाशित छ ।

By:

3 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!