Mountain Television
Thu, 21 Jun 2018

भ्रष्टाचार नियन्त्रण र सुशासन सरकारको प्रमुख लक्ष्य : प्रधानमन्त्री ओली

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीमा विश्वासको मत दिने र राष्ट्रपति निर्वाचनमा बाम गठबन्धनलाई समर्थन गर्ने दलका सांसदहरुलाई सामुहीक दिवा भोज दिएका छन् ।बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले वाम गठबन्धनलाई समर्थन गर्ने विभिन्न दलहरु सहित माओवादी र एमालेका सांसदहरुलाई संयुक्त भोज दिएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको भोजमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालदेखी मधेशकेन्द्रित दलका नेताहरु उपस्थित भएका थिए । बिगतमा संबिधान संसोधनका बिषयमा ओली र मधेशकेन्द्रित दलहरुबीच झण्डै पानी बाराबारको स्थिति रहेकामा अहिले भने सम्बन्ध सुमधुर बनेको अवस्था छ । मधेसवादी दलले प्रधानमन्त्रीमा ओलीलाई समर्थन गर्नु र बालुवाटारको भोजमा सहभागि हुनुले राजनीतिमा स्थायी शत्रु हुँदैन भन्ने भनाइ अहीले चरितार्थ भएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सांसदहरुलाई जनताको काम इमान्दारितापूर्वक गर्न निर्देशन दिए । उनले भ्रष्टाचार नियन्त्रण र सुशासन सरकारको प्रमुख लक्ष्य भएको भन्दै भ्रष्टाचार गर्नेलाई अनुहार नहेरी कारबाही गर्ने प्रतिबद्धतासमेत ब्यक्त गरे । उनले न्यायालयमा बेतिथि बढेको भन्दै अब चाँडै त्यसको अन्त्य हुने दाबी समेत गरे ।

प्रधानमन्त्री ओलीले अब संविधान संशोधन मार्फत् मधेसको समस्या समेत समाधान गर्ने र आपसी विश्वासमा समृद्ध नेपाल निर्माणको अभियानमा लाग्ने बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशको आर्थिक समृद्धि अबको एक मात्र नारा भएको भन्दै सांसदहरुलाई त्यही अनुरुप काम गर्न निर्देशन दिए । दाहालले एमाले र मओवादीको पार्टी एकता हुन नदिन केही ब्यक्तिहरु लागि परेका भन्दै त्यसप्रति आफूहरुसचेत रहेको बताएका थिए ।

दिवा भोजमा बामगठबन्धमा सामेल नभएका दलका सांसदहरुलाई भने बोलाइएको थिएन । दिवाभोजमा प्रदेशका मुख्य मन्त्री, प्रदेश सभाका सदस्यहरुको पनि सहभागिता रहेको थियो । दिवाभोजमा पुगेका मधेसवादी दलका शीर्ष नेताहरुले अब वाम गठबन्धनसँगको सहकार्यमा मधेसको समस्या समाधान गर्दै समृद्ध नेपाल निर्माणमा लाग्ने बताएका थिए ।

By:

3 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!